रामेछाप । नेपाली पर्वतारोही प्रकाशराज पाण्डेले अफ्रिकाको सर्वोच्च शिखर किलिमञ्जारो हिमालको सफल आरोहण गर्नुभएको छ । सेभेन समिट अभियानमा रहनुभएका पाण्डेले अफ्रिकाको ताञ्जेनियामा रहेको पाँच हजार ८९५ मिटर अग्लो सो हिमालको सफल आरोहण गर्नुभएको हो ।
रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिका–७ तिल्पुङमा जन्मिनुभएका ३२ वर्षीय पाण्डेले किलिमञ्जारोमा नेपालको राष्ट्रिय झन्डा तथा स्काउटको झन्डा फहराउनु भएको छ । किलिमञ्जारो तान्जानियाको सुप्त ज्वालामुखी क्षेत्रमा अवस्थित यो पहाड सात महादेशको अग्लो हिमालमध्ये एक हो । पाण्डेले स्थानीय समय अनुसार अक्टोबर ३१ तारिख अर्थात् कार्तिक १४ गते मङ्गलवार बिहान ६ बजेर ४० मिनेटमा किलिमञ्जारो हिमालको सफल आरोहण गर्नुभएको हो ।
पाण्डेले आधार शिविरबाट तीन दिनमा आरोहण पूरा गरेको जानकारी दिँदै यो अभियान आफ्नो मात्र नभई सिङ्गो नेपाल र नेपाली जनताको लागि पनि भएको बताउनुभयो । उहाँले भन्नुभयो ‘‘ यो अभियान आफ्नो मात्र होइन, सिङ्गो नेपाल र नेपाली जनता कै अभियान हो । यो अभियानले अन्य मुलुकसँग नेपालको कूटनीतिक सम्बन्ध निर्माण र विस्तारमा समेत सहयोग पुग्ने विश्वास लिएको छु । यस अवसरलाई नेपालको पर्यटन प्रवर्द्धनमा सदुपयोग गर्ने लक्ष्य पनि लिएको छु ।’’
सेभेन समिट अभियान अन्तर्गत किलिमञ्जारोपछि अन्य महादेशका अग्लो हिमाल आरोहणलाई निरन्तरता दिने पाण्डेले बताउनुभयो । ‘अब नेपाल फर्किएपश्चात् अर्जेन्टिनाको एकोन्कागुआ हिमाल आरोहणको तयारी गर्छु’, पर्वतारोही पाण्डेले भन्नुभयो । नेपाल स्काउटका स्काउट समेत रहनु भएका पाण्डेले सर्वोच्च शिखर किलिमञ्जारो आरोहण गर्न भन्दा पहिला अफ्रिकामा बालबालिकालाई खेलकुदका सामाग्री समेत हस्तान्तरण गर्नुभएको थियो । अफ्रिकाको सर्वोच्च शिखर किलिमञ्जारो आरोहण गर्न पाण्डे गत अक्टोबर २३ अर्थात् कार्तिक ८ गते नेपालबाट त्यस तर्फ जानुभएको थियो । त्यहाँ जानु अगाडि पर्वतारोही पाण्डेलाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, मह जोडी (मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य)र किरण केसीलगायतले नेपालको राष्ट्रिय झन्डा हस्तान्तरण गरेर बिदाइ गर्नुभएको थियो ।
पर्वतारोही पाण्डेले सगरमाथा, मनास्लु, अमादब्लम र आइल्याण्ड चुचुरोको पनि सफल आरोहण गरिसक्नुभएको छ । गत जुनमा उहाँले युरोपको सर्वोच्च शिखर माउन्ट एल्ब्रुसको सफल आरोहण गर्नुभएको थियो । एक वर्ष भित्र विश्वका सात वटै महादेशका सात उच्च शिखर आरोहण गर्ने लक्ष राख्नु भएका पाण्डेले विश्वको सर्वोच्च शिखर सगरमाथा, युरोपको सर्वोच्च शिखर एलब्रस पछि किलिमञ्जारो तेस्रो महादेशको उच्च शिखर आरोहण हो ।
सन् २०१६ बाट हिमाल आरोहण गर्न सुर गर्नुभएका पाण्डेले सन् २०१८ मा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्नुभएको थियो । उहाँले सन् २०१९ मा किलर माउन्टेन भनेर चिनिने मनास्लु हिमाल अनि गत जुन २८ र २९ तारिखमा रसियामा रहेको युरोपको सबैभन्दा अग्लो चुचुरो एलब्रस हिमाल आरोहण गर्नुभएको थियो । रामेछापको लिखु तामाकोसी गाउँपालिका–७ तिल्पुङमा जन्मिनुभएका ३२ वर्षीय पाण्डे एक वर्षमा ७ वटै महादेशका ७ अग्ला चुचुरा आरोहण गरी दोस्रो पटक विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने अभियानमा हुनुहुन्छ । पाण्डेलाई पर्वतारोहणका लागि आवश्यक सामाग्री मकालु आउट फिट ब्रान्डले उपलब्ध गराउँदै आएको छ ।
