रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका–५ पकरबास स्थित सल्लेनी वनमा रहेको जननेता मदन भण्डारीको सालिक तोडफोड गरिएको एक हप्ता भइसकेपनि घटनामा संलग्न माथि कारबाही भएको छैन । पकरबासको सल्लेनी वनमा निर्माण गरिएको मदन भण्डारी पार्कमा राखिएको मदन भण्डारीको सालिक महाअष्टमीको राती तोडफोड गरिएको थियो । महाअष्टमीको राति पार्कको सालिकको एउटा गोडा भाँचेर फालिएको छ । त्यस्तै सालिकका विभिन्न भागमा डुङ्गाले हानेर तोडफोड गरिएको छ । डोरमणि पौडेल वाग्मती प्रदेशको मुख्यमन्त्री र कैलाशप्रसाद ढुङ्गेल आर्थिक मामिला तथा योजना मन्त्री हुँदा वाग्मती प्रदेश सरकारको केही बजेट तथा खाँडादेवी गाउँपालिका, वडा कार्यालय लगायतको आर्थिक श्रोतका साथै स्थानीयले श्रमदान गरी पार्क र सालिक निर्माण गरिएको थियो । मन्थली–गाल्पा सडकसँगै जोडिएको सदरमुकाम मन्थली तथा खाँडादेवी गाउँपालिकाको केन्द्रबाट समेत पायक पर्ने गरी सो पार्क निर्माण गरिएको थियो । कैलाश ढुङ्गेल आर्थिक मामिला तथा योजना मन्त्री भएकै बेला मन्थली–गाल्पा सडकको मन्थली–पकरबास सडक खण्ड तथा सित्खादेखि गोगनपानीसम्मको सडक पिच गर्नुका साथै पकरबासदेखि गाल्पासम्मको पिचको प्रक्रिया समेत अघि बढेको थियो । सोही बिचमा सो क्षेत्रमा तामाकोसी र सुनकोसीको पानी लिफ्ट गरी खानेपानीको व्यवस्था मिलाइएको थियो । धार्मिक तथा पर्यटन प्रवर्धन कार्यक्रम अन्तर्गत खाँडादेवी मन्दिरको पुरातात्विक हिसाबले पुनर्निर्माण, गोगनपानीमा भ्यु टावर निर्माण लगायतका काम भएपछि पकरबासको गढीसँगै मदन भण्डारी पार्क निर्माणको काम गरिएको थियो । पर्यटनसँग जोड्ने गरी निर्माण गरिएको सो पार्क निर्माण सम्पन्न भएसँगै मन्थलीबाट पार्क घुम्ने आउने क्रम सुरु भएको थियो । यस अघि पनि सो पार्कको गेटमा लगाएको ताला पटक पटक फोडिएकोमा यस पटक सालिक नै तोडफोड भएको खाँडादेवी गाउँपालिका–५ का वडाध्यक्ष मनोज पौडेलले बताउनुभयो । नेकपा एमाले वाग्मती प्रदेश अध्यक्ष कैलाश ढुङ्गेलले मदन भण्डारीको सालिक तोडफोड र आक्रमण नेकपा एमाले र सिङ्गो कम्युनिष्ट आन्दोलन माथिको आक्रमण मात्र नभएर सामाजिक संरचना माथिकै आक्रमण भएको बताउनुभयो । ‘त्यस्ता व्यक्तिले भोलि अन्य सार्वजनिक संरचना पनि तोडफोड गर्छ, पानीका मुहान बन्द गर्न सक्छन्, खानेपानीको पाइप काट्न सक्छन्, यो सामाजिक अपराध हो, यस्ता मानिसलाई कारबाहीको दायरामा ल्याउनु पर्छ’, उहाँले भन्नुभयो । यता रामेछाप प्रहरीले तोडफोडको घटनामा संलग्नको खोजी जारी रहेको जनाएको छ । जंगलको बिचमा घटना भएकोले दोषीको पहिचानमा केही ढिलाइ भएको प्रहरीको भनाइ छ ।
