देश अप्ठेरो अवस्थामा पुग्यो, अब काँग्रेस र एमाले गम्भीर बन्नुपर्छ : पूर्णबहादुर तामाङ 

  • प्रकाशित मिति: शुक्रबार, कार्तिक ३ २०८०
  • तामाकोशी

रामेछाप । रामेछापका प्रतिनिधिसभा सदस्य पूर्णबहादुर तामाङ (कान्छाराम) ले देश अहिले अप्ठेरो अवस्थामा पुगेको बताउनुभएको छ । यो बेलामा देशको प्रमुख दुई राजनीतिक दल नेपाली काँग्रेस र नेकपा एमाले देश सुधार गर्न गम्भीर नबन्ने हो भने अबको १० वर्षमा राजनीतिक दल, सांसद, विभिन्न सङ्घ सङ्गठन कोही नरहने उहाँको भनाइ छ । नेपाल प्रेस युनियन रामेछापले दसैँ, तिहार, छठ र नेपाल सम्वतको अवसरमा शुक्रवार मन्थलीमा आयोजना गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा उहाँले देशको आर्थिक अवस्था नाजुक अवस्थामा पुगेका भन्दै चिन्ता व्यक्त गर्नुभयो ।
देशको आर्थिक अवस्था नाजुक भएको वर्तमान अवस्थामा पनि सांसद र भूमि आयोगका नाममा राज्यको ठुलो ढुकुटी खर्च भइरहेको उहाँले बताउनुभयो । ‘देश डुबानमा छ, यस्तो अवस्थामा सङ्घीय सांसदका लागि मात्रै प्रत्येक महिना ९ करोड ६० लाख, प्रत्येक जिल्लामा एक लाख ९९ हजारका दरले ७७ जिल्लामा भूमि आयोगका पदाधिकारीहरूका लागि एक करोड ५३ लाख २३ हजार रुपैयाँ भन्दा बढी खर्च भइरहेको छ, यस्तो खर्च अब देशले धान्न सक्दैन’, उहाँले भन्नुभयो ।
देशको आर्थिक अवस्था यतिसम्म कमजोर बन्दा पनि वर्तमान सरकार, राजनीतिक दलहरू, कर्मचारीहरू कुनै पनि जिम्मेवार निकायहरू गम्भीर नबनेको उहाँको भनाइ छ । कर्मचारीहरूले नै यो देशको आर्थिक अवस्था यति सम्मको कमजोर बनाएको उहाँको आरोप छ । देशको आर्थिक अवस्था ध्वस्त पार्ने गरी कर्मचारीहरूले राज्यबाट चाहिने भन्दा बढी सेवा सुविधा लिएको उहाँले बताउनुभयो । ‘यो देशको एउटा सचिवले चार करोडको र प्रहरीको आइजिपीले पाँच करोड ३० लाखको गाडी चढेर हिँडेपछि यो देश कसरी बन्छ, सिंहदरबार भित्र जाँदा यसो हेर्छु कर्मचारीले नै यो देश डुबाएको जस्तो लाग्छ’,उहाँले भन्नुभयो । अब देशको आर्थिक अवस्था सुधारका लागि पनि सबै राजनीतिक दलहरु मिलेर पाँच पाँच वर्षका लागि करारमा कर्मचारी भर्ना गर्नुपर्ने र ठुला ठुला कर्मचारीहरूले प्रयोग गर्ने महँगा गाडी लिलामी गराउनुपर्ने उहाँको भनाइ छ ।