रामेछाप । दसैँको बेलामा गाउँमा बस पुगेपछि रामेछापको खाँडादेवी गाउँपालिका–८ गागलबासीको खुसीको सिमानै छैन । गाउँमा पहिलो पटक बस पुगेपछि खुसी भएर गागलबासीले गाउँमा आएको बसलाई पूजा गरी बसमा आएका चालक, सहचालकलाई खादा माला लगाएर स्वागत समेत गरे ।
खाँडादेवी गाउँपालिका–८ गागलमा सडक बनेको धेरै भयो । गागलको महाकाली थानसम्म सुमो पुग्छ । तर सुमोमा धेरै मानिस नअटाउने र सोझै काठमाडौँ जाने मानिसले सुमो भरिएपछि गाउँका मान्छेलाई सडक बने पनि पैदल नै हिँड्नु पर्ने बाध्यता थियो । दसैँको घटस्थापनाको दिन आइतबार गाउँमा गाडी पुग्ने बित्तिकै गागलबासी खुसी भएर एक ठाउँमा जम्मा भए ।
बसको पूजाआजा गरे । सडकको बिचमा सगुन राखियो । चालक सहचालक लगायत बसका स्टाफलाई खादा माला लगाइदिए, सगुन खुवाए, गाउँलेले पनि सगुन खाएर खुसीयाली मनाए । नियमित बस चल्ने भएपछि गागलबासीलाई धेरै सहज भएको खाँडादेवी गाउँपालिका–८ गागलका गोपाल थोकर तामाङले बताउनुभयो । ‘गागलबासीलाई काठमाडौँ जान पाए सुमो नपाए बस चढ्न गाउँबाट तलसम्म पैदल हिँड्नुपर्ने बाध्यता थियो, अझ सदरमुकाम मन्थली आउनेले त ट्रक चढेर जोखिमपूर्ण यात्रा गर्नुपर्थ्यो, अब गाउँमा बस पुगेपछि बसमा यात्रा गर्न पाउने भएपछि गागलबासी खुसी छन्’, उहाँले भन्नुभयो ।
साँघुरो सडकलाई आवश्यक मर्मत गरेर ठुलो बस सञ्चालन हुने बनाइएको खाँडादेवी गाउँपालिका–८ गागलका वडा अध्यक्ष जङ्गलाल तामाङले बताउनुभयो । ‘यहाँको सडक केही साँघुरो थियो, यस पटक मर्मत गर्दा मोडमा केही सुधार गरेर ठुला बनायौँ र बस चल्न सक्ने भयो’, उहाँले भन्नुभयो । वडा अध्यक्ष तामाङका अनुसार गाउँमा बस आउने भएपछि बिहानदेखि गाउँलेहरू सगुन तयार गरेर बसेका थिए ।
काठमाडौँबाट खाँडादेवीको फुल्पाहुँदै जाने बस गागलको महाकालीनाथबाट चिरंखुसम्म पुग्छ । जसले गर्दा गाल मात्रै होइन दोरम्बा शैलुङ गाउँपालिकाका केही वडाका स्थानीयलाई समेत आवागमनमा सहज र छोटो यात्रा हुने भएको छ । चिरंखुबाट अब दैनिक बस सेवा सञ्चालन हुने वडाध्यक्ष तामाङले बताउनुभयो ।
गाउँमा पहिलो पटक बस पुगेपछि स्थानीयमा खुसीयाली
- प्रकाशित मिति: सोमबार, असोज २९ २०८०
- तामाकोशी