चाडपर्व नजिकिएसँगै रामेछापको दुई स्थानमा यात्रु सहायता कक्ष स्थापना

  • प्रकाशित मिति: आइतबार, असोज २१ २०८०
  • तामाकोशी

रामेछाप । दसैँ, तिहार जस्ता चाडपर्व नजिकिएसँगै रामेछापको ठाउँ ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापले यात्रु चढ्ने, ओराल्ने तथा यात्रुको चाप बढी हुने ठाउँको छनोट गरी जिल्लाको दुई ठाउँमा सहायता कक्ष स्थापना गरेको हो । प्रहरीले जिल्ला सदरमुकाम मन्थली बजारको देवकोटाचोक र मन्थली नगरपालिका–६ सेलेघाटमा यात्रु सहायता कक्ष स्थापना गरेको हो । दसैँ तिहार लगायतका चाड पर्वमा यात्रुको गुनासो सुन्ने र यात्रुहरूलाई सहज वातावरणमा यात्रा गराउन सहयोग गर्ने उद्देश्यले सहायता कक्ष सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक होमबहादुर पराजुलीले बताउनुभयो । ‘यात्राका क्रममा कुनै समस्या परे यात्रु, चालक तथा सहचालक सबैले सहायता कक्षमा गुनासो राख्न फाउँछन्, सार्वजनिक सवारीले तोकिएको भन्दा बढी भाडा लिएमा पनि यात्रुले सहायता कक्षमा उजुरी दिन सक्छन्’,उहाँले भन्नुभयो ।