रामेछापबाट सर्वसम्मत एमालेका प्रदेश प्रतिनिधि चुनिए, बागमतीको अध्यक्षमा कैलाश ढुंगेल बलिया दाबेदार

  • प्रकाशित मिति: सोमबार, असोज १ २०८०
  • तामाकोशी

रामेछाप । असोज ८ र ९ गते काठमाडौंमा हुने नेकपा एमाले बागमती प्रदेश अधिवेशनका लागि नेकपा एमाले रामेछापले सबै स्थानीय तहबाट सर्वसम्मत प्रतिनिधि छनोट गरेको छ। ८ पालिका रहेको रामेछापमा एमालेले सर्वसम्मत प्रदेश अधिवेशनको लागि प्रतिनिधि चयन गरेको हो । एमालेले रामेछापले ८१ जना प्रतिनिधि पठाएको छ । एमाले रामेछापले १४ वटा वडा रहेको मन्थली नगरपालिकाबाट १७ जना, ९ वटा वडा रहेको रामेछाप नगरपालिकाबाट ५ जना, ९ वटा वडा रहेको खाँडादेवी गाउँपालिकाबाट १३ जना र ७ वडा वडा रहेको लिखुतामाकोशी गाउँपालिकाबाट ८ जना प्रतिनिधि छनोट गरेको छ । त्यसैगरी ७ वटा वडा रहेको उमाकुण्ड गाउँपालिकाबाट ५ जना, ७ वटा वडा रहेको दोरम्बा शैलुङ गाउँपालिकाबाट ९ जना, ५ वटा वडा रहेको सुनापति गाउँपालिकाबाट ५ जना, ६ वटा वडा रहेको गोकुलगंगा गाउँपालिकाबाट ८ जना र जिल्लाभर उत्पीडीतबाट ११ जना गरी ८१ जना प्रतिनिधिहरु सर्वसम्मत रुपमा छनोट गरेको हो । यसैबिच खाँडादेवी गाउँपालिकाबाट सिफारिस हुनुभएको कैलाश ढुंगेल प्रदेश अध्यक्षको बलियो दाबेदार हुनुहुन्छ। केन्द्रीय सदस्यसमेत रहनुभएका ढुंगेलले २०३८ सालबाट कम्युनिष्ट पार्टीमा काम सुरू गर्नुभएको थियो । उहाँ २०४८ बाट लगातार तीन पटक पार्टी सचिव र २०६६ मा जिल्ला पार्टी अध्यक्ष बन्नुभएको थियो । २०५४ सालमा जिल्ला विकास समिति रामेछापको सभापति, २०७४ मा बागमती प्रदेशसभा सदस्यसमेत हुनुभएका ढुंगेलसँग बागमती प्रदेशको पहिलो आर्थिक मामिला मन्त्रीको अनुभव पनि छ ।