मन्थलीमा अनेरास्ववियुको अखिल महोत्सव तथा जिल्ला अधिवेशन सुरु : नेतृत्वको लागि तीन जनाको दाबी

  • प्रकाशित मिति: शुक्रबार, भाद्र २९ २०८०
  • तामाकोशी

रामेछाप । नेकपा एमालेको विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) रामेछापको प्रथम अखिल महोत्सव तथा १३ औँ जिल्ला अधिवेशन सदरमुकाम मन्थली स्थित तीनलाल पार्कमा सुरु भएको छ । अनेरास्ववियुका वर्तमान संयोजक मदन खड्काको अध्यक्षता र केन्द्रीय समितिका उपाध्यक्ष गोविन्द गिरीको प्रमुख आतिथ्ययतामा शुक्रबार दिउँसोबाट महोत्सव तथा जिल्ला अधिवेशन सुरु भएको हो ।
तीनलाल पार्कको खुला चौरमा भइरहेको कार्यक्रममा अनेरास्ववियुका महासचिव नरेश रोका, नेकपा एमाले केन्द्रीय सदस्य तथा भक्तपुर जिल्ला इन्चार्ज कैलाश प्रसाद ढुङ्गेल, केन्द्रीय सदस्य माधव ढुङ्गेल, एमाले रामेछापका अध्यक्ष एवं वाग्मती प्रदेशसभाका सदस्य सदस्य आनन्द कुमार श्रेष्ठ , एमाले वाग्मती प्रदेश कमिटीका सदस्य लगायत एमाले रामेछापका नेताहरूको सहभागिता रहेको छ ।
महोत्सव तथा भेलाका लागि जिल्लाभरका विभिन्न विद्यालयका विद्यार्थीहरू भेला भएका छन् । महोत्सव तथा जिल्ला अधिवेशनमा जिल्लाका विभिन्न विद्यालयका विद्यार्थीहरूले निर्माण गरेका हाते कलात्मक शैक्षिक सामाग्रीहरू प्रदर्शनीका लागि स्टलमा राखिएको छ । कार्यक्रम, विभिन्न जात जातिको पहिचान र संस्कृति झल्काउने झाँकी लगायतका नृत्यहरू पनि प्रस्तुत गरिएको छ । कार्यक्रममा राष्ट्रिय स्तरमा ख्याति प्राप्त गायक प्रताप दासको पनि प्रस्तुति रहने (अनेरास्ववियु)का सचिव पुष्कर भट्टराईले जानकारी दिनुभयो । अखिल महोत्सव तथा १३ औँ जिल्ला अधिवेशनले अनेरास्ववियु) रामेछापको नयाँ नेतृत्व चयन गर्ने छ । नयाँ नेतृत्वका लागि अहिले तीन जनाले दाबी गरेका छन् । (अनेरास्ववियु) का अहिलेका संयोजक मदन खड्का, सह–संयोजक हिमाल बोहरा र सचिव पुष्कर भट्टराईले अध्यक्षमा दाबी गरेका छन् । अध्यक्षमा तीन जनाको दाबी रहे पनि सकेसम्म पार्टी र सङ्गठनले सहमतिको प्रयास गरी शुक्रबारनै नयाँ नेतृत्व घोषणा गर्ने तयारी भएको नेताहरूले बताएका छन् ।