बागमतीको प्रदेश नीति तथा योजना आयोगको सदस्यमा दोलखाका डा.प्रदीपकुमार मैनाली नियुक्त

  • प्रकाशित मिति: बिहिबार, भाद्र २८ २०८०
  • तामाकोशी

रामेछाप । बामगती प्रदेश सरकारले प्रदेश नीति तथा योजना आयोगको सदस्यमा दोलखा कालिञ्चोक गाउँपालिकाका डा.प्रदीपकुमार मैनालीलाई नियुक्त गर्ने निर्णय गरेको छ । प्रदेश मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले प्रदेश निजामती सेवा ऐन, २०७९ को दफा २६ को उपदफा १ बमोजिम प्रदेशसभाको सचिवालय सचिव पदमा पूर्णबहादुर दर्जी (अधिकृतस्तर एघारौं तह)लाई सरुवा गर्ने निर्णय पनि गरेको छ । बैठकले प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० प्रदेशसभामा पेस गर्न स्वीकृति दिने निर्णय पनि गरेको बागमती प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकले पूर्वसभामुख, संविधानसभाका अध्यक्ष तथा प्रतिनिधिसभाका सदस्य सुवासचन्द्र नेम्वाङको हृदयाघातका कारण असामयिक निधन भएकोमा भावपूर्ण श्रद्धाञ्जलीसहित परिवाजनप्रति गहिरो समवेदना व्यक्त गर्दै शोक प्रस्ताव पनि पारित गरेको छ । बैठकले सर्वोच्च अदालतको संवैधानिक इजलासमा नेपालको संविधानसँग बाझिएको ऐन बदर गर्ने माग दाबीसहित बागमती प्रदेश सरकारको तर्फबाट श्रम, रोजगार तथा यातायात मन्त्रालयले रिट निवेदन दर्ता गर्ने निर्णय गरेको छ । संविधानको अनुसूची ६ मा प्रदेशको एकल अधिकार सूचीमा सवारीसाधन कर, यातायात र प्रदेश लोकमार्ग उल्लेखित छ ।