रामेछाप । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा.शशाङ्क कोइरालाले राजनीतिक निर्णय गर्दा सर्वोच्चलाई ल्याउने कुरा गलत भएको बताउनुभएको छ । आइतबार रामेछाप सदरमुकाम मन्थलीमा नेपाल प्रेस युनियन रामेछापको पत्रकार भेटघाट कार्यक्रममा उहाँले राजनीति भनेको राजनीतिज्ञले गर्ने विषय भएको बताउनुभयो । केही दिन अघि कोशी प्रदेशमा सर्वोच्च अदालतले उद्धव थापाले लिएको विश्वासको मत असंवैधानिक ठहर गरेको प्रति लक्षित गर्दै सबै कुरामा सर्वोच्चलाई समावेश गर्ने परिपाटीले मुलुकमा राजनीतिक खतरा बढाएको उहाँको भनाई छ । उहाँले भन्नुभयो ‘‘हामीले हरेक कुरा सर्वोच्चसम्म पु¥याउने होइन । राजनीतिक पार्टीहरूबिच एक आपसमा छलफल गरेर समाधान निकाल्नु पर्छ । राजनीति भनेको राजनीतिज्ञले गर्ने हो, सर्वोच्चले होइन ।’’ यस्तै गरी मुलुकको राजनीतिमा सर्वोच्चको हस्तक्षेप बढ्दै गएमा राजनीति सर्वोच्चको हातमा जाने खतरा रहेको उहाँको भनाइ छ । नेता कोइरालाले काँग्रेस कुनै गुट उपगुट नगरी कसैको आडमा नभै एक जुट भएर एक्लै उभिनुपर्नेमा जोड दिनुभयो। यो म अठोटका साथ भन्छु ‘‘काँग्रेस एक जुट भएर अगाडी बढेमा कुनै पनि शक्तिले हराउन सक्दैन ।’’ काँग्रेसको केन्द्रदेखि जिल्ला तहसम्म गुट र उपगुट रहेको बताउँदै उहाँले पार्टीभित्र अधिवेशनमा मात्रै गुट र उपगुट हुने भएकाले अधिवेशन सकिएपछि सबै मिलेर अगाडी बढ्नुपर्ने बताउनुभयो । गुट उपगुट नगरी थप पृथक् भएर एकजुट बनेर अगाडी बढेको खण्डमा नेपाली काँग्रेस आगामी निर्वाचनमा पहिलो शक्ति बन्ने उहाँको विश्वास छ । ‘यो वा त्यो नभनी हामी एक हौँ भन्ने दृष्टिकोण जुन दिन नेपाली काँग्रेसले राख्छ, त्यो दिनदेखि नेपाली काँग्रेसको उज्ज्वल भविष्य निर्माण हुन्छ उहाँले भन्नुभयो ।’’ नेपाली काँग्रेसको शक्ति भनेको बिपीको विचार भएकाले पार्टी यो विचारबाट विचलित हुन नहुने उहाँको भनाइ छ । बिपीले ७० वर्ष अगाडी दिएको विचारबाट पार्टी विचलित नभएको खण्डमा मुलुकका सबै शक्ति मिले पनि काँग्रेसलाई केही असर नहुने उहाँले बताउनुभयो । सुनियोजित रूपमा आफ्नो पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएकाले यो घटना प्रति सरकार गम्भीर बन्नुपर्ने उहाँको भनाइ छ ।
सर्वोच्चले राजनीति गर्ने होइन : डा.शशाङ्क कोइराला
- प्रकाशित मिति: आइतबार, भाद्र २४ २०८०
- तामाकोशी