आधारभूत तहका जनताका जीवन रूपान्तरण गर्ने सोचका साथ काम गरिरहेका छौँ : ज्ञान कुमार श्रेष्ठ

  • प्रकाशित मिति: शनिबार, भाद्र २३ २०८०
  • तामाकोशी

खाँडादेवी गाउँपालिका रामेछाप जिल्लाको आठ वटा पालिका मध्येको एक पालिका हो । २०७३ सालमा सङ्घीय मामिला र स्थानीय विकास मन्त्रालयले स्थानीय तह लागू गरेपछि साबिकका राकाथुम, मझुवा, भीरपानी, पकरबास, माकादुम, गागल भदौरे र पिङखुरी गाविस मिलाएर यो गाउँपालिका बनाइएको हो । १५० दशमलव ७ वर्ग किलोमिटर कुल क्षेत्रफल रहेको यो गाउँपालिमा नौ वटा वडा हरू छन् । २०७८ सालको राष्ट्रिय जनगणना अनुसार १० हजार ३१७ महिला र आठ हजार ९९५ पुरुष गरी १९ हजार ३१२ जनसङ्ख्या भएको यस गाउँपालिकालाई ९ वडाहरूमा विभाजन गरिएको छ। यस गाउँपालिका पूर्वमा मन्थली नगरपालिका, पश्चिममा सुनापति गाउँपालिका, उत्तरमा दोरम्बा शैलुङ गाउँपालिका र दक्षिणमा सिन्धुली जिल्लासम्म फैलिएको छ।
गाउँपालिकाको विकासका लागि भएका कामका बारेमा नेकपा (एमाले) बाट निर्वाचित खाँडादेवी गाउँपालिका अध्यक्ष ज्ञान कुमार श्रेष्ठसँग गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ :

सङ्घ र प्रदेशसँग गाउँपालिकाको सम्बन्ध नङ र मासुको जस्तो छ भन्न सक्ने अवस्था छैन । राजश्व परिचालन, आर्थिक वृद्धि, आफूले बनाएको बजेट पूर्ण रूपमा कार्यान्वयन लगाएका काम गर्न नसक्दा सङ्घीय सरकार आफै सङ्कटमा छ । प्रदेश सरकारले पनि राजश्व बाँडफाँडबाट प्राप्त हुनुपर्ने रकम पुरै प्राप्त गर्न सकेन । देश आर्थिक मन्दी तिर जाँदै छ । यसका बाबजुद पनि गाउँपालिकाले जे जति कामहरू गरेको छ यसबाट सन्तुष्ट हुनुपर्छ ।



(१) खाँडादेवी गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनुभएको एक वर्ष बढी भइसकेको छ, यो अवधिमा गाउँपालिकाको आर्थिक र सामाजिक क्षेत्रमा के कस्ता कामहरू भएका छन् ?

आर्थिक र सामाजिक क्षेत्रको रूपान्तरणको सन्दर्भमा ग्रामीण जनताको आम्दानीको सम्भावना भएको कृषि तथा पशुपन्छी नै हो । किसानहरूका पैतृक रूपमा रहेका जग्गा जमिन जे छन् त्यसको विकास गर्ने र सही ढङ्गले उपयोग गर्ने, सुख्खा जमिनहरूलाई कसरी आवधिक बनाउन सकिन्छ भन्ने कुरालाई ध्यानमा राखेर हामीले सम्भावना भएसम्म गाउँपालिकाको बनावट, हावा पानी आदिलाई लिएर गर्न सक्ने र गर्नुपर्ने कामहरू गिरहेका छौँ । मूलतः पहिलो वर्ष आर्थिक रूपमा आधार तयार गर्ने र क्षमता विकास गर्नुपर्छ भन्ने उद्देश्यले कृषिलाई पहिलो प्राथमिकतामा राखेर काम गरियो । यसरी कृषि क्षेत्रको विकासका लागि काम गर्दा कृषिमा यान्त्रीकरणको प्रयास गरियो । गाउँपालिकाका विभिन्न वडाहरूमा मकै पकेट क्षेत्रहरूको घोषणा गरी सोही अनुसारका कार्यक्रमहरू सञ्चालन गरियो । फलफूलको सघन उत्पादन हुने क्षेत्रहरूको पहिचान गरी लगानी गरियो ।
गाउँमा रहेर दुःख गरिरहेका महिला दिदी बहिनी तथा किसानहरूका सिपको पहिचान गरी उनीहरूको आर्थिक अवस्था सुधारका लागि व्यवसायीक बाख्रा पालनमा लगाउने प्रयास गरिएको छ । यसका लागि गाउँपालिकाले झन्डै एक सय वटा सुधारिएको आधुनिक खोर निर्माण गरेको छ । विशेष गरी आर्थिक रूपले कमजोर महिलाहरूले परम्परागत रूपमा गरिरहेका बाख्रा पालनलाई खोर लगायतका कुराहरूको व्यवस्थापन गरी आधुनिक बनाई नस्ल सुधार गर्ने र गाउँपालिकामा व्यावसायिक बाख्रा पालन गर्न किसानहरूलाई प्रोत्साहन गर्ने गाउँपालिकाको अभियान छ ।
खाँडादेवी गाउँपालिकाले आधारभूत तहका जनताका जीवनमा रूपान्तरण गर्ने सोचका साथ धेरै कामहरू गरिरहेको छ । गाउँपालिकाको सुख्खा ठाउँहरूको पहिचान गरी रिचार्ज पोखरीहरू निर्माण गर्ने, आकाशे पानी सङ्कलन कार्य पनि अगाडी बढाइएको छ । आर्थिक समृद्धिका क्षेत्रमा लगानी बढाई कृषिमा आधुनिकीकरण गर्ने लक्ष्य अनुसार सरकाले कृषि तथा पशुपन्छीमा ५० प्रतिशत अनुदान दिने कुरा सबैलाई थाहा नै छ । यो अनुदानका लागि खाँडादेवी गाउँपालिकाबाट ६७ वटा निवेदन दर्ता भएकोमा ५० वटा परियोजनाले यो अनुदान पाउने भएका छन् । यसबाट झन्डै ३० करोड रुपैयाँ पैसा कृषिमा अनुदान प्राप्त हुँदै छ । यसले पनि गाउँपालिकाको कृषि क्षेत्रको विकासका लागि सहयोग पुग्नेछ । जहानसम्म सामाजिक क्षेत्रको रूपान्तरणको कुरा छ । सामाजिक रूपान्तरण भनेको सबै भन्दा पहिला चेतनामा रूपान्तरण हुनुपर्ने हो, सामाजिक सुरक्षा दिनुपर्ने हो, सुशासन कायम गर्नुपर्ने हो, न्यायिक निरूपणहरू गर्नुपर्ने हो यो सबैलाई थाहा भएकै कुरा हो । यसका लागि चेतना आवश्यक छ । सामाजिक रूपान्तरणका लागि चेतमा परिवर्तन आउनुपर्छ, व्यवहारमा परिवर्तन आउनुपर्छ यो सबै शिक्षाबाट मात्रै प्राप्त गर्न सकिन्छ भन्ने सोचका साथ हामीले शिक्षालाई सघन रूपमा लगानी गरी यो वर्षलाई शिक्षाको वर्ष भनेका छौँ ।
(२) गाउँपालिकाको आर्थिक र सामाजिक क्षेत्रको विकासमा के कस्ता चुनौती देखिए?
सामाजिक, आर्थिक रूपान्तरणका लागि ग्रामीण क्षेत्रमा काम गर्न चुनौतीपूर्ण छ । किन भने यहाँका जनताहरूका धेरै समस्याहरू छन् । मुलतः यहाँ पूर्वाधारमा धेरै कामहरू गर्न बाँकी नै छ । त्यही भएर पनि होला यहाँका जनता र जनप्रतिनिधि कम्तीमा पनि सडक पुगोस्, प्रत्येक घरमा खानेपानीको धारा पुगोस्, आफ्नो खेतमा पानीको कुलो पुगोस्, आफूलाई पायक पर्ने सडक छिटो भन्दा छिटो कालोपत्रे होस् भन्ने चाहाना राख्छन् । यहाँका हरेक व्यक्ति आफू स्थापित हुन चाहन्छन् । व्यक्तिहरूको निजी आकाङ्क्षाले गर्दा समाजलाई आर्थिक रूपमा सबल बनाउन र सामाजिक रूपमा सुदृढ बनाउन कठिन भइरहे कै छ । एकै पटक एउटै वर्ष आएका सबै समस्याहरूको सम्बोधन गर्नका लागि आउने जन दबाबले साना साना योजनाहरू विशेष गरी ५० प्रतिशत बजेट मर्मत सम्भारमै खर्च गर्नुपर्ने अवस्था छ ।
जसका कारण आर्थिक रूपमा प्रभाव पर्ने ठुला परियोजनाहरू सञ्चालन गर्न कठिन भइरहेको छ । आज पनि मानिसहरू परम्परागत बुझाइमा छन् । आफूले जे जानेको छ, आफूलाई जे मन परेको छ त्यसैमा रमाउन चाहन्छन् । जुन समाजमा प्रयोग भएर प्रमाणित भएर राम्रो नतिजा दिएको कुराहरूलाई अनुसरण गरी प्रयोग गर्नु भन्दा पनि आफूलाई खुसी राख्ने र आफ्ना मान्छेहरूलाई खुसी राख्ने परिपाटीको विकास हुँदा सामाजिक क्षेत्रको रूपान्तरणमा कठिनाइ भइरहेको मेरो अनुभव छ। यही कारण सामाजिक रूपान्तरणका लागि धेरै योजना, आयोजना, सोच र सपनाहरू हुँदा हुँदै पनि कार्यान्वयनमा ल्याउन कठिनाइ भइरहेको छ ।
(३) निर्वाचनमा जनता माझ गरेका प्रतिवद्धताहरु पुरा हुने गरी काम भएको छ कि छैन ?
निर्वाचनमा जनता सामु हामीले गरेका प्रतिविद्धताको पहिलो कुरा हाम्रो घोषणापत्र नै हो । त्यस बखत आर्थिक समृद्धि, सामाजिक रूपान्तरण, शिक्षा, स्वास्थ्य, रोजगारी र पर्यटन यस्तै विकासहरूका बारेमा हामीले १८ बुँदे घोषणापत्र मार्फत जनतासामु प्रतिबद्धता गरेकै हो । सोही कुराहरूलाई लक्ष्य बनाएर अहिले हामीले आफ्ना कामहरू अगाडी बढाइरहेकै छौँ ।
हाम्रो पाँच वर्ष कार्यकाल हुने भए पनि निर्वाचन ताका जनतासामु गरिएको प्रतिविद्धताहरू हाम्रो कार्यकालको तीन वर्ष भित्रै पुरा गर्ने उद्देश्यका साथ काम गरिरहेका छौँ । सोही अनुसार भटौली खोलमा ड्याम बाँधेर गाउँपालिकाको ३, ४, ५ र ६ नम्बर वडामा सिँचाइ सुविधा पु¥याउने सोचका साथ काम अगाडी बढाइएको छ । यो योजनाका लागि यो वर्ष दुई करोड रुपैयाँ रकम विनियोजन गरिएको छ । एक करोड रुपैयाँमा आकाशे पानी सङ्कलन गर्न सुख्खा क्षेत्रका वन, सार्वजनिक जमिन, साना साना चौरहरूमा एक सय भन्दा बढी सुख्खा पोखरी बनाउने योजना छ ।
यो वर्ष शिक्षाको वर्षका रूपमा लिएर अति सीमान्तकृत समुदायका विद्यार्थीहरूका लागि आवासीय विद्यालय सञ्चालन गरिँदै छ । निर्वाचन ताका जनतासामु गरिएको प्रतिबद्धता भन्दा पनि यो गाउँपालिकालाई आर्थिक रूपमा समृद्ध र सामाजिक रूपमा सुरक्षित बनाउने तिर हामीले ध्यान दिएका छौँ । स्थानीय सरकारको आफ्नै स्रोतहरूको अभावका कारणले, सङ्घ र प्रदेशबाट प्राप्त हुने रकम पनि विशेष अनुदान, समपूरक भनेर नियन्त्रण गर्दा समस्या छ । समानिकरण भनेर प्राप्त रकमलाई विशिष्टताका आधारमा विनियोजन गरिएको छ । जुन रकम कम हुने तर जनताका अत्यधिक मात्रामा माग रहने भएकाले आम रूपमा समाज रूपान्तरण र ठुलो आयोजनाहरूमा भन्दा पनि निजी व्यक्ति तथा साना समूह जस्ता योजनामा लगानी भइरहेका छन् । खाँडादेवी गाउँपालिकामा सडक पूर्वाधार विकास राम्रै भएका छन् । जनताका सबै घरमा बिजुली बलेका छन् । नौ वटा वडामा १३ वटा स्वास्थ्य एकाइहरू सञ्चालनमा छन् । गाउँ गाउँमा रहेका सामुदायिक विद्यालयहरूलाई थप व्यवस्थापन गरिँदै लगिएको छ ।
(४) यो आर्थिक वर्षलाई शिक्षा वर्षको रूपमा मनाउने योजना अनुरूप खाँडादेवी गाउँपालिमा के कस्ता कार्यक्रम तथा योजना बनेका छन्?
यो वर्षलाई हामीले शिक्षाको वर्ष भनेका छौँ । शिक्षाको क्षेत्रमा देखिने गरी परिवर्तन गर्ने सोचका साथ काम गर्न यो वर्षलाई शिक्षा वर्षका रूपमा लिएका हौँ । यसका लागि गाउँपालिकाले कक्षा ६ देखि कक्षा ८ सम्मका विद्यार्थीहरूका लागि डे वोडर्स सञ्चालन गरेको छ । राज्यको नियम अनुसार कक्षा ८ सम्म पढाई भइरहेको विद्यालयमा कम्तीमा चार जना विषयगत शिक्षकको व्यवस्थापन गर्ने गरी विषयगत शिक्षक व्यवस्थापनका लागि सूचना प्रकाशन गरिएको छ ।
माथिल्लो शैक्षिक योग्यता भएर पनि शिक्षक सेवा आयोग मार्फत तल्लो तहमा पढाउन अनुमति पाएका र माथिल्लो तहमा पनि पढाइ रहेका शिक्षकहरूलाई यो वर्ष देखी प्रोत्साहन भत्ताको व्यवस्था गरिएको छ । कक्षा ८ देखि माथि पढाई हुने विद्यालयका प्रधानाध्यापकहरू स्थानीय भए पनि आवासीय रूपमा विद्यालयमै बस्नुपर्ने व्यवस्था गरिएको छ । यसका लागि एक जना प्रधानाध्यापकलाई खाजा खानाका लागि वार्षिक ५० हजार रकमको व्यवस्था गरिएको छ । विद्यालयका कार्यालय सहयोगीका लागि पनि प्रत्येक काम गरेको दिनको थप एक सय रुपैयाँ रकमको व्यवस्थापन गरिएको छ । विद्यार्थीको सङ्ख्या घट्दो छ , गाउँमा जन्मदर घट्दो दरमा छ, बसाई सराई बढ्दो छ । यो कुरालाई ध्यानमा राखेर गाउँपालिकाले गत वर्ष बाटै एक वा एक भन्दा बढी कक्षाका विद्यार्थीलाई एउटै कक्षामा राखेर पठन पाठन गर्न बहु कक्षा, बहु स्तर कार्यक्रम सञ्चालन गरिएको छ । अहिले ६ वटा विद्यालयमा सञ्चालनमा रहेको यो कार्यक्रम प्रभावकारी देखिएकाले यो वर्षबाट नै १४ वटा विद्यालयमा सञ्चालन गर्ने योजना छ ।
(५) सुन्दर, सभ्य र समृद्ध खाँडादेवी भन्ने नाराले कत्तिको सार्थकता पाएको छ नि?
सुन्दर, सभ्य र समृद्ध खाँडादेवी भन्ने नाराको सार्थकता प्राप्त गर्नका लागि निर्माण भएका कार्य योजना अनुसार यहाँका जनप्रतिनिधिहरू र कर्मचारीहरू लागि परेका छन् । खाँडादेवी गाउँपालिका प्राकृतिक स्रोतका हिसाबले सम्पन्न नभए पनि यो गाउँपालिका आफैमा सुन्दर गाउँपालिका हो । ऐतिहासिक खाँडादेवी मन्दिर, दुई हजार मिटर भन्दा अग्लो अग्लेश्वरी डाँडा, सुलिथुम्का, नर्वदेश्वर महादेव, विश्वामित्र गुफा यही छ । महाकाली स्थान, सुनकोशी, तामाकोशी र भटौली खोला पनि यहाँ रहेको छ । गाउँपालिकामा रहेका सबै वडाका नागरिकको भावना र चाहना अनुरूप सभ्य समाज निर्माणमा हामी लागेका छौँ । गाउँपालिकाको आर्थिक, सामाजिक रूपान्तरण गरी समृद्धिको यात्रामा गाउँपालिका केन्द्रित भइरहेको छ ।
(६) सङ्घ र प्रदेश सरकारसँग गाउँपालिकाको समन्वय कस्तो छ ?
सङ्घ र प्रदेशसँग गाउँपालिकाको सम्बन्ध नङ र मासुको जस्तो छ भन्न सक्ने अवस्था छैन । राजश्व परिचालन, आर्थिक वृद्धि, आफूले बनाएको बजेट पूर्ण रूपमा कार्यान्वयन लगाएका काम गर्न नसक्दा सङ्घीय सरकार आफै सङ्कटमा छ । प्रदेश सरकारले पनि राजश्व बाँडफाँडबाट प्राप्त हुनुपर्ने रकम पुरै प्राप्त गर्न सकेन । देश आर्थिक मन्दी तिर जाँदै छ । यसका बाबजुद पनि गाउँपालिकाले जे जति कामहरू गरेको छ यसबाट सन्तुष्ट हुनुपर्छ ।
मूलतः आर्थिक रूपमा आत्मनिर्भर बनाउने खालका योजना तथा कार्यक्रम सङ्घ र प्रदेश सरकारसँग माग गरेका गरिएको थियो । श्रोतको अभावले पनि वा अन्य कारणले हुन सक्छ हामीले माग गरे अनुसार सम्बोधन हुन सकेन । हाम्रो जस्तो पहाडी मुलुकलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने, समाज आधुनिक बनाउने, प्राकृतिक स्रोत र साधनलाई पूर्ण रूपमा सदुपयोग गर्ने, जलवायु परिवर्तनको मागबाट जोड्ने, आकाशे पानी सङ्कलन, भएका पानीहरूलाई सङ्कलन गर्ने र त्यसको समुचित प्रयोग गर्ने खाँडादेवी गाउँपालिकाको सपनालाई सङ्घ र प्रदेश सरकारले आत्मसाथ गर्न सकेन । यसमा म अरूलाई दोष दिन चाहाना समन्वय गर्ने काम स्थानीय सरकारको प्रमुखको हिसाबले म आफैको हो । कतै समन्वयमा कमजोरी पनि भए होला । विगत एक वर्षमा भोगेका र काम गर्दै जाँदा सिकेका कुराहरूलाई आत्मसाथ गरेर यो वर्ष सङ्घ, प्रदेश सरकार सहित अन्य दात्री निकायहरूसँग पनि प्रभावकारी समन्वय गरी जनताको चाहना र भावना अनुरूप गाउँपालिकाको विकासमा प्रतिबद्ध भएर लाग्नेछौँ ।