चेपाङको न्वागी पर्वमा बाग्मती प्रदेशको मकवानपुर, चितवन र धादिङमा सार्वजनिक बिदा

  • प्रकाशित मिति: मंगलबार, भाद्र १९ २०८०
  • तामाकोशी

रामेछाप । चेपाङहरूको राष्ट्रिय पर्व न्वागी (छोनाम) को अवसरमा मकवानपुर, चितवन र धादिङमा भदौ २२ गते सार्वजनिक बिदा हुने भएको छ । सोमबार बसेको बाग्मती प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले भदौ २२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो । यससँगै बाग्मती प्रदेशको मन्त्रिपरिषद् बैठकले पाँच वटा निर्णय गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री गङ्गानारायण श्रेष्ठले जानकारी दिनुभयो । बाग्मती प्रदेशका तीन जिल्ला मकवानपुर, चितवन र धादिङ चेपाङ समुदायको बाहुल्य रहेको क्षेत्र भएकाले ती जिल्लामा पर्वका लागि बिदा दिइएको सरकारका प्रवक्ता समेत रहेका मन्त्री श्रेष्ठले बताउनुभयो । प्रवक्ता श्रेष्ठका अनुसार प्रदेश नीति तथा योजना आयोगको सदस्यमा बुढानीलकण्ठ–५ काठमाण्डौकी कृष्णकुमारी बस्नेतलाई नियुक्त गर्ने निर्णय भएको छ । त्यसै गरी प्रदेश विपद् व्यवस्थापन कोष परिचालन कार्यविधि, २०८० स्वीकृत गर्ने निर्णय गरेको छ । उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय, कृषि तथा पशुपक्षी विकास मन्त्रालयको सङ्गठन संरचना र दरबन्दी तेरिजसहितको संक्षिप्त सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण स्वीकृत गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । यसै गरी ग्रामीण सडक सञ्जाल सुधार आयोजना–एएफ सञ्चालनका लागि म्याचिङ फण्डको सुनिश्चितता गरी नेपाल सरकार, एसियाली विकास बैङ्क र मन्त्रालयबिच आयोजना सम्झौता गर्न भौतिक पूर्वाधार विकास मन्त्रालयका प्रदेश सचिवलाई अख्तियारी दिने निर्णय गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।