रामेछाप । प्रत्येक वर्ष जस्तै रामेछापको शैलुङमा यो वर्ष पनि मेला लागेको छ । प्रत्येक वर्ष गोने ङ्ह्या (जनै पूर्णिमा) को अघिल्लो दिन सैलुङ ठुलो मेला लाग्ने गर्दछ । मेलामा विभिन्न जिल्लाका भक्तजनहरू आफ्ना दिवङ्गत पितृहरूको सम्झनामा श्रद्वा श्रदा अर्पण (ङोवा) का लागि आउने गरेका छन् । मेला भर्नका लागि रामेछाप, दोलखा, सिन्धुपाल्चोक, लगायतका स्थानबाट झाँक्री, लामाहरू सहित भक्तजनहरू आउने गरेको स्थानीयको भनाइ छ । शैलुङ मेलामा बोन्बो (झाँक्री) हरू पूर्णिमाको दिन सैलुङमा पुग्ने गर्छन् । उनीहरू पूर्णिमाको अवसरमा भने ज्ञान आर्जनका लागि गुफा वास पनि बस्ने गर्दछन् । यो समयमा देवीदेवता लगायत सबै राम्रा शक्तिहरू गुफामा बस्ने गरेको विश्वास छ । समुन्द्र सतहदेखि ३ हजार १४५ मिटरको उचाइमा रहेको सैलुङमा सदियौँदेखि प्रत्येक वर्ष गोने ङ्ह्या (जनै पूर्णिमा) मा मेला लाग्ने गरेको छ । यो वर्षको शेलुङ मेलामा गत वर्ष भन्दा बढी मानिसहरू आएको स्थानीय दावासङवु शेर्पाले बताउनुभयो । उहाँका अनुसार प्रत्येक वर्षको जनै पूर्णिमाको अघिल्लो दिन लाग्ने शैलुङ मेला भर्न रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काठमाडौँ लगायतका ठाउँबाट हजारौँ मानिसहरू आउने गरेका छन् । शैलुङ मेलामा चौँरीको दूधबाट बनेका विभिन्न परिकारहरू लगायत स्थानीय कृषि उत्पादनहरू ठुलो मात्रामा बिक्री हुने गरेको उहाँले बताउनुभयो । धार्मिक पर्यटकीय स्थल शैलुङमा पर्यटन पूर्वाधार विकासका लागि प्रदेश र स्थानीय सरकारले पनि विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको छ ।
