पोखरीमा रहेको भ्यागुता मरेपछि बिस्तारै सुक्दै गएको नागदह पोखरी

  • प्रकाशित मिति: मंगलबार, भाद्र ५ २०८०
  • तामाकोशी

रामेछाप । रामेछापको लिखुतामाकोसी गाउँपालिका–५ स्थित एउटा पोखरी छ । जुन पोखरी नागदहले परिचित छ । यही नागदह पोखरीको नामबाट यो वडालाई नागदह नामाकरण गरिएको हो। लिखुतामाकोसी गाउँपालिकाको मात्रै नभै जिल्लाकै एक ऐतिहासिक पोखरी हो नागदह । गाउँको बिचमा रहेको यो पोखरीमा नाग थान रहेको र यहाँ नाग बस्ने भएकाले यो पोखरीको नाम नागदह बस्न गएको स्थानीय बताउँछन् । हेर्दा निकै आकर्षक देखिने यो पोखरीको बिचमा दुई वटा ठुला ठुला ढुङ्गा छन् । यही ढुङ्गाबाट उडेको दुई वटा चरा मध्ये एउटा नागदहको पहिरे खोला र अर्को तिल्पुङको हीलेखोलामा बसेको एक घण्टामा ठुलो पानी परेको र ती दुवै खोलामा ठुलो बाढी पहिरो आएपछि क्रमशः नागदहमा पानी सुक्न थालेको स्थानीय वृद्ध वृद्धाको भनाइ छ ।
स्थानीय बुढापाकाका अनुसार पहिला यो पोखरीमा कहिले पनि पानी सुक्दैनथ्यो । पहिला यो पोखरीमा पुस मसान्त र माघे सङ्क्रान्ति दिन ठुलो मेला समेत लाग्ने गर्दथ्यो । प्राकृतिक रूपमै स्थापित यो पोखरीमा सधैँ नागहरू खेलिरहने भएकाले नाग हेर्नकै लागि मान्छे जम्मा हुन्थे साबिक नागदह गाविसको अध्यक्ष समेत रहनुभएका स्थानीय आसबहादुर तामाङ बताउनुहुन्छ । ‘पहिला पहिला यो पोखरीमा धेरै नागहरू देखिन्थ्यो, सानोमा नजिकैको विद्यालयमा पढ्न जाँदा मैले पनि नाग जुधिरहेको देखेको छु, यो पोखरीमा बिहान, दिउँसो र बेलुकाको समयमा ठुलो स्वरमा कराउने एउटा भ्यागुता पनि थियो,’ उहाँले भन्नुभयो । स्थानीय ल्हो माइला भनिने जमिनदारले पोखरी नजिकै बारी जोत्ने क्रममा भ्यागुता बाहिर आएको र हलोको फालीले चोट लागेपछि केही दिनमा भ्यागुता मरेपछि बिस्तारै नागदह पोखरी सुक्दै गएको उहाँको भनाइ छ । जिल्लाकै ऐतिहासिक यो पोखरी संरक्षणका लागि स्थानीय सरकार लगायत सरोकारवाला निकायले चासो नगएको स्थानीयको गुनासो छ ।