रामेछाप । रामेछापको मन्थली नगरपालिका–८ चिसापानी स्थित चिसापानी गढी छ । यो जिल्लाकै ऐतिहासिक गढी हो । चिसापानी गढीमा स्थानीय र प्रदेश सरकारले पर्यटन पूर्वाधार विकासका लागि विभिन्न संरचनाहरू निर्माण गरेको छ। सिन्धुली गढीको सायक गढी चिसापानी गढीलाई नेपाल र अङ्ग्रेज युद्धको बेला नेपालका सेनाले प्रशिक्षण गर्ने थलोको रूपमा प्रयोग गरेको स्थानीयको भनाइ छ। नेपाल र अङ्ग्रेज युद्धको बेलाको भग्नावशेष र चिनोहरू रहेकाले चिसापानी गढी महत्त्वपूर्ण रहेको जानकारहरूको भनाइ छ । अङ्ग्रेजसँगको युद्धमा नेपालका सेनाहरूलाई चिसापानी गढीमा प्रशिक्षण दिएर युद्ध गर्न सिन्धुलीगढी पठाइएको स्थानीय बत्ताउँछन् । जिल्लाकै ऐतिहासिक र छुट्टै पहिचान अनि महत्त्व बोकेको मन्थली नगरपालिका–८ चिसापानीमा रहेको यो गढी घुम्न तथा अवलोकन गर्न आउने आन्तरिक पर्यटकहरू पहिला भन्दा बढेको बढ्दै गएको छ । गढीमा पूर्वाधार विकास सँगै पछिल्लो समय चिसापानी गढी घुम्ने आन्तरिक पर्यटकहरूको सङ्ख्या बढ्दै गएको मन्थली नगरपालिका–८ चिसापानीका वडा अध्यक्ष गोपाल श्रेष्ठले बताउनुभयो । गढीमा निर्माण भएका सिँढी सहितको पैदल मार्ग, मन्दिर तथा अन्य संरचनाहरूको अवलोकन भ्रमण गर्नेहरू पहिला भन्दा बढेको उहाँको भनाइ छ । चिसापानी गढीलाई केन्द्रमा राखेर मन्थली नगरपालिका–८ चिसापानी गाईखुराबाट भिसेनस्थान मन्दिरसम्म सिँढी सहितको पैदल मार्ग निर्माण गरेको छ । चिसापानी गढीमा पनि वाग्मती प्रदेश सरकारको लगानीमा सिँढी सहितको पैदल मार्ग, मन्दिर निर्माण गरिएको छ । एमाले रामेछापका नेता कैलाश प्रसाद ढुङ्गेल वाग्मती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री हुँदा आवश्यक बजेटको व्यवस्थापन गरी रामेछाप जिल्लाकै ऐतिहासिक चिसापानी गढीमा प्रदेशका तर्फबाट विभिन्न पूर्वाधारहरू निर्माण गरिएको हो । यो गढीको संरक्षण तथा प्रचार प्रसारका लागि स्थानीय चिसापानी गढी संरक्षण तथा विकास समाज लागि परेको छ । अहिले चिसापानी गढी संरक्षण तथा विकास समाजले नेपाल र अङ्ग्रेज युद्धको बेलाको भग्नावशेष र चिनोहरूको संरक्षण गर्दै थप कुराहरूको खोजी गरिरहेको छ ।
नेपाल र अङ्ग्रेज युद्धमा नेपालका सेनाले प्रशिक्षण गर्ने थलो बनाएको ऐतिहासिक चिसापानी गढी
- प्रकाशित मिति: आइतबार, भाद्र ३ २०८०
- तामाकोशी