अबको तीन महिनामा माओवादी जीवन्त पार्टीका रूपमा स्थापित हुन्छ, अर्को निर्वाचनमा पहिलो पार्टी बन्छ : प्रधानमन्त्री प्रचण्ड

  • प्रकाशित मिति: बिहिबार, साउन ३२ २०८०
  • तामाकोशी

रामेछाप ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुशासन, सामाजिक न्याय र समृद्धिको महान् यात्रामा अहिलेको गठबन्धन सरकार एक ढिक्का भएर लागेको बताउनुभएको छ । आफूहरूलाई असफल बनाउन जो जसरी लागे पनि सरकार अहिले जनतासँग एकाकार भएर संविधान र गणतन्त्रका पक्षमा रहेका अनि सङ्घीयता र समानुपातिकका पक्षमा रहेका सबै राजनीतिक शक्तिहरूसँग मिलेर अगाडी बढी रहेको उहाँको भनाइ छ । २० औ दोरम्बा हत्याकाण्ड स्मृति दिवसको अवसरमा रामेछापको दोरम्बामा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले गठबन्धनलाई लिएर बाहिर आउने भ्रामक प्रचारको पछि नलाग्न पनि आग्रह गर्नुभयो । ‘अहिलेका बेथिति र विकृतिको अन्त्य गर्ने लडाइ माओवादीले नै लड्नुपर्छ भनेर सुरु गरिएको छ, विभिन्न खालका बेथिति अन्त्य गर्ने अभियान सरकारका तर्फबाट गएकै छ, यी कुराहरूमा गठबन्धनमा अहिले राम्रो सहमति छ’,उहाँले भन्नुभयो । अहिले रामो काम गर्ने, जनताको मन जित्ने र जनताको हितमा काम गर्नुको विकल्प नरहेकाले आफूले यसलाई चुनौतीपूर्ण अवसरका रूपमा लिएको उहाँको भनाइ छ । ‘यही कुरालाई आत्मसाथ गरेर हिजो जनयुद्धको तयारी र थालनी गर्दाको सक्रियता, आत्मविश्वास अनि जुन पहल गरिएको थियो , अहिले आफू जीवनको उत्तरार्धमा भए पनि समाजवादको निम्ति यो राष्ट्र र जनताका निम्ति फेरी एक चोटि त्यही लेबलको सक्रियता र त्यही स्तरको पहल कदमीका साथ लागि परेको छु’,उहाँले भन्नुभयो ।
आफूले लिएको नयाँ सङ्कल्पमा साथ दिन पार्टीका केन्द्र प्रदेश, जिल्ला र स्थानीय तहका नेता कार्यकर्तालाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो ‘‘हामीले एउटा नयाँ प्रतिविद्धताका साथ नयाँ सङ्कल्प, योजना र अभियानको साथ जनतामा जाने तयारी गरेका छौँ । यो अभियानमा बेला बेलामा गर्न खोज्दा पनि नभए जस्तै त होला नि भनेर कुनै शङ्का नगरी एक जुट भएर लाग्न आवश्यक छ । सबै एकजुट भएर यो अभियानमा गएमा आउने तीन महिनामा देशमा एउटा नयाँ वातावरण बन्छ।’’
माथिबाट सरकारको तर्फबाट र तल जनताको तर्फबाट यो अभियान अगाडी बढाए त्यसले एउटा नयाँ परिस्थिति बन्ने र अर्को तीन महिनामा नेकपा माओवादी केन्द्र जीवन्त पार्टीका रूपमा स्थापित हुने उहाँको भनाइ छ । यही प्रक्रियामा अभियान गएमा २०८४ सालको निर्वाचनमा माओवादी केन्द्र २०६४ सालको निर्वाचनमा भन्दा माथिल्लो तहमा पुग्ने उहाँको विश्वास छ ।
आफूहरूसँग अहिले योजना, कार्यक्रम, नेतृत्व र सरकार पनि रहेकाले अहिले नभए कहिले हुन्छ भन्ने कुरा बुझेर अगाडी बढ्नुपर्नेमा उहाँको जोड छ । यही कुरालाई बुझेर राजनीतिक व्यवस्था त परिवर्तन गरियो, अब जनताको अवस्था पनि परिवर्तन गर्न आवश्यक छ भनेर लाग्नुपर्छ उहाँले भन्नुभयो । अहिले सरकारको विकास र परिवर्तनका ठुला आयोजनाहरूमा ध्यान गएको उहाँले बताउनुभयो । आफू प्रधानमन्त्री भएको केही दिनमै विदेशमा रहेका लाखौँ नेपालीहरूलाई सम्बोधन गर्ने उद्देश्यले सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने निर्णय गराएको र अहिले यसमा तीन लाख भन्दा बढी विदेशमा रहेका श्रमिकहरू आबद्ध भइसकेको उहाँको भनाइ छ । देशभित्र रहेका अनुमानित ४० लाख अनौपचारिक क्षेत्रका श्रमिकहरू र स्वरोजगारमा रहेकाहरूलाई पनि सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने अभियान सरकारले सुरुवात गरिसकेको उहाँको भनाइ छ । श्रमिकलाई सामाजिक सुरक्षा कोषमा जोड्ने कुरा समाजवादी अभियानको अङ्ग ठानेर सरकारले अगाडी बढाएकाले यो कामलाई सफल बनाउन सबैको साथ र सहयोग आवश्यक रहेको उहाँले बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले अब शान्ति प्रक्रियाका बाकी कामहरू पनि चाडै पूरा गर्ने बताउनुभयो । सहिदका परिवारलाई परिपूरणका कुरा आर्थिक सहयोग, उनीहरूको छोराछोरीलाई रोजगारी, उपचारको व्यवस्था गर्ने ऐन सदनमा रहेकाले त्यो पारित भएपछि यो कुरा पनि पूरा हुने उहाँले बताउनुभयो ।