रामेछाप । रामेछापको मन्थली नगरपालिका–९ पुरानागाउँ बाहुनचुरा स्थित अग्लो पहाडको टुप्पोमा थानापति महादेव मन्दिर छ । यो मन्दिर रामेछाप जिल्लाकै ऐतिहासिक धार्मिक स्थल हो । काठमाडौँको पशुपतिनाथ र हलेसी महादेवपछि नेपालको तेस्रो तथा पूर्वको दोस्रो पशुपतिनाथको रूपमा पुजिने थानापति महादेवको मन्दिर रामेछाप जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्य मध्येको एक हो । यहाँ प्रत्येक वर्षको हरितालिका तीज, ठुलो एकादशी र महाशिवरात्रि जस्ता पर्वहरूमा भक्तजनहरूको घुइँचो लाग्ने थानापति मन्दिर विकास समितिका अध्यक्ष राजकुमार बोहराले बताउनुभयो । उहाँका अनुसार यी पर्वहरूमा रामेछाप लगायत सिन्धुली, सर्लाही, महोत्तरी, ओखलढुङ्गा, काभ्रे, दोलखा सहित काठमाडौँ जिल्लाबाट समेत दर्शनार्थीहरु आउने गरेका छन् ।
स्थानीयका अनुसार तीन सय वर्षभन्दा पनि पुरानो थानापति महादेव मन्दिरमा गई पूजा आराधना गरी ठुलो स्वरले वरदान माग्दा मागेको बर पाइने विश्वास छ । वैरा तथा बुढा महादेवको नामले परिचित यस महादेव मन्दिरमा वर माग्दा ठुलो स्वरले माग्नु पर्ने जनविश्वास छ । महादेव मन्दिरमा बस्तु थारो बस्दा ब्याओस् भनेर माग्ने तथा सन्तान नहुनेले सन्तान प्राप्तिको कामना गर्दै बर माग्ने चलन रहेको दर्शनका लागि मन्दिर पुग्नुभएका मन्थली नगरपालिका ९ का राज श्रेष्ठले बताउनुभयो । यो महादेवको मन्दिरमा बस्तुको दाम्लो चढाएर त्यही दाम्लोले महादेवस्थान परिसरको ढुङ्गा डोहोर्याएर घरमा ल्याउँदा बस्तुभाउ फस्टाउने विश्वास छ ।
मन्दिरको फेदीबाट मन्दिरसम्म जानको लागि आकर्षक सिँढी निर्माण गरिएको छ । मन्दिर जानका लागि सिँढी चढ्ने क्रममा देखिने मनोरम दृश्यले जो कोहीको मन लोभ्याउँछ । सदरमुकाम मन्थलीबाट वडा नं ८ चिसापानी र मन्थली नगरपालिका–१० चनखु हुँदै जाने सडक मार्ग प्रयोग गरेर थानापति महादेव मन्दिर पुग्न सकिन्छ । सडक सञ्जालका कारण विशेष पर्वहरूमा मात्रै नभई दैनिक रूपमा यो मन्दिर दर्शन गर्ने र घुम्नका लागि आउनेको सङ्ख्या बढेको मन्थली नगरपालिका–९ पुरानागाउँका वडा अध्यक्ष गोकर्णराज आरणले बताउनुभयो ।
पहाडको टुप्पोमा रहेको थानापति मन्दिरबाट मनोरम दृश्यावलोकन गर्न सकिन्छ । महादेवको दर्शनसँगै पहाडका नागबेली दृश्यहरूको अवलोकन गर्न पाइन्छ । रामेछाप जिल्लाकै ऐतिहासिक धार्मिक स्थल थानापति महादेव मन्दिर विकासका मन्थली नगरपालिकाले बनाएको गुरु योजना अनुसारका काम गर्न यो वर्ष १५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले बताउनुभयो ।


