रामेछाप । रामेछापको मन्थली नगरपालिकाले गौरवको आयोजना तीनलाल पर्यटकीय पार्क सञ्चालनमा ल्याएको छ । नेपाली साहित्यका प्रथम सहिद सुब्बा कृष्णलाल अधिकारी, प्रजातान्त्रिक आन्दोलनका सहिद गङ्गालाल र नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल जन्मिएको जिल्ला रामेछापको मन्थली नगरपालिका–१ गढवारिमा उहाँहरूको सम्झनामा पार्क निर्माण गरिएको छ । मन्थली नगरपालिका र सङ्घीय सरकारको ६ करोड ८६ लाख २१ हजार रुपैयाँ संयुक्त लगानीमा निर्माण गरिएको उक्त पार्क नगरपालिकाले अहिले अस्थायी रूपमा सञ्चालनमा ल्याएको हो ।
कूल १७ रोपनी जमिनमा फैलिएको सो पार्कमा दुई तले प्रशासनिक भवन, ४०८ जना क्षमताको सभा हल, महिला, पुरुष बच्चा सहितको ७५ देखि १०० जना क्षमताको तीन वटा पौडी पोखरी, चेन्जिङ रुम तथा स्नान कक्ष समेत रहेका छन् । त्यस्तै चमेना गृह, टिकट घर तथा शौचालय र बगैँचा सहितको पार्क रहेको छ ।
खासै घुमफिर गर्ने ठाउँ नभएको सदरमुकाम मन्थलीमा तीनलाल पर्यटकीय पार्क सञ्चालनमा आउनु धेरै राम्रो कुरा भएको स्थानीय राम प्रसाद देवकोटा बताउनुहुन्छ । उहाँले भन्नुभयो ‘‘लामो समयपछि निर्माण भएको पार्क अहिले नगरले अस्थायी रूपमा सञ्चालन गरेको छ । पार्क सञ्चालन भएपछि घुम्न आउने आन्तरिक पर्यटक बढेका छन् । अब यसलाई चाडै नै व्यवस्थित गरी दिगो रूपमा सञ्चालन गर्न सके विदेशी पर्यटक पनि आउँथे।’’
अहिले मन्थली नगरपालिका आफैले अस्थायी रूपमा पार्क सञ्चालन गरिरहेको नगरपालिकाको राजश्व उपशाखाका कार्यालय सहायक रामबहादुर माझीले बताउनुभयो । अन्य दिन भन्दा शनिवारका दिन पार्क घुम्न र स्विमिङ गर्ने आउनेको सङ्ख्या क्रमशः बढी रहेको उहाँले बताउनुभयो । ‘भर्खरै सञ्चालन भएको पार्कबाट अन्य दिन खासै नभए पनि शनिवारका दिन भने १२ हजार रुपैयाँसम्म नगरपालिकालाई आम्दानी भइरहेको छ’,उहाँले भन्नुभयो । उहाँका अनुसार पार्कमा प्रवेश र पौडी खेल्न नेपाली र विदेशी नागरिकलाई फरक फरक शुल्क निर्धारण गरिएको छ । बालबालिकालाई भने निःशुल्क प्रवेशको व्यवस्थापन गरिएको छ । नेपाली नागरिकलाई पार्क प्रवेश शुल्क २५ रुपैयाँ तोकिएको छ ।
भारतीय नागरिकलाई प्रवेश शुल्क एक सय रुपैयाँ र अन्य मुलुकका लागि दुई सय रुपैयाँ तोकिएको छ । पौडीको लागि बालबालिकालाई ७५ रुपैयाँ र वयस्कका लागि एक सय ५० रुपैयाँ तोकिएको छ । पौडी खेल्न भारतीय बालबालिकाले तीन सय र वयस्कले पाँच सय रुपैयाँ तिर्नु पर्ने छ । भारत बाहेकका मुलुकका बालबालिकाको लागि पाँच सय र वयस्कका लागि एक हजार रुपैयाँ शुल्क तोकिएको छ ।
अहिले अस्थायी रूपमा नगरपालिका आफैले सञ्चालन गरिरहेको पार्कलाई व्यवस्थित रूपमा सञ्चालन गर्न नगरपालिकाले टेन्डर आह्वान गरेको छ । पार्क सञ्चालनका लागि नगरपालिकाले केही दिन अघि वार्षिक रूपमा न्यूनतम २० लाख रुपैयाँमा ठेक्का लगाउने गरी नगरपालिकाले तीनलाल पर्यटकीय पार्कको टेन्डर आह्वान गरिएको नगरपालिकाको पूर्वाधार विकास तथा अनुगमन शाखाका इन्जिनियर डिल्ली बहादुर अधिकारीले बताउनुभयो ।‘नगरपालिकाले पार्क ठेक्कामा लगाउने तयारी स्वरूप टेन्डर निकालेको छ, ठेक्कामा नलागुन्जेल नगर आफैँले पार्कको सञ्चालन र व्यवस्थापन गर्छ’, उहाँले भन्नुभयो ।

