निर्माण व्यवसायीको माग पूरा नभए सांसद पद त्याग्ने कान्छारामको घोषणा

  • प्रकाशित मिति: शुक्रबार, साउन १९ २०८०
  • तामाकोशी

काठमाडौं । रामेछापका सङ्घीय सांसद पूर्णबहादुर तामाङ कान्छारामले सरकारले निर्माण व्यवसायीको माग पुरा नगरे सांसद पद नै त्याग्ने बताउनुभएको छ । शुक्रवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा निर्माण उपकरणसहितको निर्माण व्यवसायीहरूको धर्ना कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । नेपाली काँग्रेस रामेछापका सभापति समेत रहनुभएका कान्छारामले रक्षा मन्त्रालय नै ठेक्कापट्टामा लागेको भन्दै रक्षा मन्त्रालयले सुरक्षा व्यवस्था चुस्त बनाउने हो की ठेक्का पट्टामा लाग्ने हो ? भन्दै प्रश्न समेत गर्नुभयो । निर्माण व्यवसायी समेत रहनुभएका सांसद तामाङले निर्माण व्यवसायीहरू प्लेकार्डमा मात्रै एकत्रित हुने नभई जुनसुकै बेलामा एकत्रित हुनुपर्नेमा जोड दिनुभयो । निर्माण व्यवसायीहरूले पूर्ववर्ती सरकारले गरेका गल्तीहरू सच्याएर देश विकासका लागि सरकार सच्चिन आवश्यक रहेको भन्दै आन्दोलन गरिरहेको छ । उनीहरूले बजेट दिन नसक्ने आयोजनाहरू खारेज नगरे देशमा निर्माण व्यवसायीहरूको आन्दोलन थप चर्किने चेतावनी पनि दिएका छन् ।