पार्टीको सेवा गर्छु भन्दै एमालेमै फर्किए नेकपा एस रामेछापका अध्यक्ष रमेश बस्नेत

  • प्रकाशित मिति: आइतबार, साउन ७ २०८०
  • तामाकोशी

रामेछाप । नेकपा एकीकृत समाजवादी रामेछापका जिल्ला अध्यक्ष रमेश बस्नेत नेकपा एमालेमा नै फर्किनुभएको छ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४५ औँ स्मृति दिवसको अवसरमा जन्मस्थल रामेछापको सदरमुकाम मन्थलीमा आइतबार नेकपा एमाले जिल्ला कमिटी रामेछापको व्यवस्थापनमा नेकपा एमाले केन्द्रीय कमिटीले आयोजना गरेको कार्यक्रममा बस्नेत एमालेमा फर्किनुभएको हो । बस्नेतलाई एमाले महासचिव शङ्कर पोखरेल लगायतका नेताहरूले एमालेमा स्वागत गर्नुभएको थियो । बस्नेत मन्थली नगरपालिकाका निवर्तमान नगरप्रमुख तथा जिल्ला विकास समिति रामेछापका पूर्व सभापति र उपसभापति समेत हुनुहुन्छ । नेपालको कम्युनिष्ट आन्दोलनको नेतृत्व एमालेले मात्र गर्न सक्ने भएको कारण आफू एमालेमा फर्किएको बस्नेतले बताउनुभयो । आफू एमाले प्रवेश गरेको नभई बाहिर जाँदा हन्डर खाएर आफ्नै पार्टीमा फर्किएको उहाँले सुनाउनुभयो । एकीकृत समाजवादीले राम्रो गर्छ कि भन्ने लागेको भए पनि यो पार्टी काँग्रेसको पिछा लागेर केवल एमालेलाई समाप्त पार्न मात्रै लागि परेको उहाँको भनाइ छ । एकीकृत समाजवादीले देश, जनताको हित र कम्युनिष्ट विचार बोक्न नसक्ने बस्नेतले बताउनुभयो । आफू एमालेमा कुनै भाग लिन नभई पार्टीको सेवा गर्न एमालेमा फर्किएको उहाँले प्रस्ट पार्नुभयो । सोही कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी रामेछापका उपाध्यक्ष केशव दाहाल, नेकपा एकीकृत समाजवादीका नेताहरू लगायत नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।