रामेछाप । नेकपा एमाले केन्द्रीय कमिटीले यस वर्ष ४५ औँ पुष्पलालको स्मृति दिवस उहाँकै जन्मथलो रामेछापमा मनाउने भएको छ । साउन ७ गते आइतबार उहाँको जन्मस्थल रामेछापमा एमाले केन्द्रीय कमिटीको आयोजना तथा जिल्ला कमिटी रामेछापको व्यवस्थापनमा स्मृति दिवस विशेष कार्यक्रम हुँदै छ ।
कार्यक्रम नेकपा एमालेका महासचिव शङ्कर पोखरेलको प्रमुख आतिथ्यतामा हुन लागेको नेकपा एमाले रामेछापका सचिव पुरुषोत्तम कडरियाले जनाकारी दिनुभयो । कडरियाका अनुसार ७ गते बिहान पुष्पलालको जन्मथलो भँगेरीमा पुष्प गुच्छा अर्पण, श्रद्धाञ्जली तथा चियापान लगायत संक्षिप्त कार्यक्रम हुनेछ ।
स्मृति दिवसको वृहत् कार्यक्रम भने सदरमुकाम मन्थली स्थित तीनलाल पर्यटकीय पार्कमा बिहान ११ बजेबाट सुरु हुने सचिव कडरियाले बताउनुभयो । तीनलाल पार्कमा नेपाली साहित्यका प्रथम सहिद सुब्बा कृष्णलाल अधिकारी, सहिद गङ्गालाल र कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको प्रतिमामा माल्यार्पण गरेपछि औपचारिक कार्यक्रम सुरु हुने उहाँले बताउनुभयो। उ
उहाँका अनुसार कार्यक्रममा नेपाकाले कम्युनिस्ट आन्दोलनमा उहाँको भूमिकाको विषयमा प्रवचनका साथै जिल्लामा विभिन्न विधाका उत्कृष्ट व्यक्तित्वलाई सम्मान पनि गरिनेछ। पुष्पलालको जन्मस्थल रामेछाप नगरपालिका–८ भँगेरीमा अहिले पुष्पलाल स्मृति पार्क निर्माणको काम भइरहेको छ ।
सो स्थानमा सरकारले जग्गा अधिग्रहण गरी पार्क निर्माणको काम गरिरहेको छ । पार्कमा सभा हल लगायतका केही संरचना तयार भए पनि पुष्पलाल लगाएका कम्युनिस्ट पार्टीका संस्थापकहरूको प्रतिमा राख्ने, पार्क निर्माण गर्ने लगायतका काम बाँकी नै छन् । प्रतिमाहरू काठमाडौँमा तयार भइसकेको भए पनि पार्कका आवश्यक पूर्वाधार बन्न बाँकी नै रहेकाले जिल्ला नल्याएको एमाले रामेछापका अध्यक्ष आनन्द श्रेष्ठले बताउनुभयो ।
हालसम्म भएको कामको प्रगतिको बारेमा महासचिवलाई जानकारी गराउने तथा थप कामलाई चाँडै सम्पन्न गराउन पहल गर्नको लागि दबाब दिन ४५ औँ पुष्पलालको स्मृति दिवस विशेष कार्यक्रमको आयोजना गरिएको अध्यक्ष श्रेष्ठको भनाइ छ ।
