मन्थली नगरपालिका रामेछापका जिल्ला सदरमुकाम हो । यो नगरपालिकाको पूर्वमा रामेछाप नगरपालिका, पश्चिममा खाँडादेवी गाउँपालिका, उत्तरमा दोलखा जिल्ला, लिखु तामाकोसी गाउँपालिका र दक्षिण रामेछाप नगरपालिका अनि सिन्धुली जिल्ला रहेको छ । २११.७८ वर्ग कि.मी.क्षेत्रफल रहेको यो नगरपालिकामा २०७८ को जनगणना अनुसार महिला २१,२१५ र पुरुष १८४८० गरी कुल ३९ हजार ६९५ जनसङ्ख्या रहेको छ । मन्थलीको नामा करणको सन्दर्भमा स्थानीय माझी जाती सँग जोडिएको कथा रहेको पाइन्छ। १४ वटा वडाहरू रहेको मन्थली नगरपालिकाले अहिले समृद्ध नगरपालिका बनाउने दीर्घकालीन योजनाका साथ काम गरिरहेको छ । नगरपालिकाले अहिले नगरको विकासका लागि शिक्षा, स्वास्थ्य कृषि र पर्यटनलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ । समृद्ध मन्थली नगरपालिका बनाउन अहिलेसम्म भएका कामका बारेमा नेकपा एमालेबाट निर्वाचित मन्थली नगरपालिका प्रमुख लव कुमार श्रेष्ठसँग हामीले कुराकानी गरेका छौँ।
(१) दोस्रो स्थानीय तहबाट तपाई मन्थली नगरपालिका प्रमुखमा निर्वाचित भएको एक वर्षमा नगरको विकासका लागि के कस्ता काम भएका छन् ?
हामी निर्वाचित भएको एक वर्ष पुरा भएको छ । हामी निर्वाचित भए पश्चात् पहिलो कार्यपालिकाको बैठकमा शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि र पर्यटनलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्छ भन्ने निर्णय गरेका थियौँ । सोही अनुसार मन्थली नगरपालिका पशु र दूधमा आत्मनिर्भर बनाइ आय आर्जनमा दिगो अर्थतन्त्र हासिल गराउने दिशामा अगाडी बढेको छ । यस अन्तरगत भेटेरिनरी अध्ययन गर्ने विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था, दूध उत्पादन गर्ने किसानलाई अनुदान, पशु रोग नियन्त्रण, डाले घाँस कार्यक्रम, पशु र कृषि प्रोफाइल तयारी, कृषि यन्त्रमा अनुदान लगायतका विभिन्न कार्यक्रमहरू सञ्चालन भएका छन् । मन्थली नगरपालिकाले कृषि क्षेत्रको विकासका लागि माटो परीक्षण, बिउ, विषादी, खाद मलको व्यवस्थापन गर्ने जस्ता कामहरू गरेको छ । वडा स्तरमा कृषि तथा पशु प्राविधिकहरूको व्यवस्थापन गरेको छ । कृषि क्षेत्रको विकासका गर्न नगरपालिकाले भू उपयोग नीति पनि जारी गरेको छ । खेतीयोग्य जमिनको उचित संरक्षण गरी कृषकको आर्थिक अवस्थालाई कसरी सुधार गर्न सकिन्छ भन्ने तर्फ नगरपालिका केन्द्रित छ । विशेष गरी नगरपालिकाले आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि सम्भाव्यता प्राप्त क्षेत्रमा कृषिका कार्यक्रमहरू अगाडी बढाइएको छ । पूर्वाधार विकासले पनि मानिसको आर्थिक विकासमा टेवा पुग्छ र दिगो आर्थिक लक्ष्य हासिल गर्न सकिन्छ भन्ने हेतुले रोजगारसँग पूर्वाधार विकासलाई जोडेर पूर्वाधार विकासको कामहरू पनि सञ्चालन गरिएको छ । मन्थली नगरपालिकामा ७४ वटा विद्यालयहरू सञ्चालनमा छन् । शैक्षिक क्षेत्रको सुधारको लागि नगरपालिकाले विद्यालयमा निरन्तर अनुगमन गर्ने र विद्यालय तथा शैक्षिक क्षेत्र सुधारको लागि शिक्षा क्षेत्रका विज्ञहरू सँग अन्तरक्रिया पनि गरिएको छ । विद्यालयमा पठन पाठन गर्दाका समस्याहरू के के हुन् ? सामुदायिक र निजी विद्यालयको धारणा के छ । सामुदायिक विद्यालयमा पढाइमा गुणस्तर छैन तर निजी विद्यालयमा गुणस्तर छ भन्ने कुरा आउँछ । यी कुरा किन आउँछ भन्ने विषयमा सरोकारवाला निकायसँग अन्तरक्रिया गरिरहेका छौँ । शिक्षा क्षेत्रका विकासका लागि समय अनुकूल शिक्षामा विकास गर्न आइसिटी व्यवस्थापन, शिक्षक र प्रधानाध्यापकहरूको क्षमता विकासका कार्यक्रम सञ्चालन, विषयगत रोष्टर शिक्षक तयार गरी केही ठाउँमा परीक्षा लिएर त्यसको छलफल अगाडी बढाइएको छ । नगरका ३२ जना विद्यार्थीलाई निःशुल्क विज्ञान विषय अध्ययनको व्यवस्था लगायतका कार्यहरू गरिएको छ । स्वास्थ्य क्षेत्रको विकास र विस्तारका लागि मन्थली नगरपालिकाले दक्ष चिकित्सक सहित आवश्यक स्वास्थ्यकर्मीको व्यवस्थापन गरी १५ शय्याको मन्थली अस्पताल सञ्चालन गरिरहेको छ । नगरपालिकाले अहिले एउटा अस्पताल, एउटा प्राथमिक स्वास्थ्य केन्द्र, नौ वटा स्वास्थ्य चौकी, तीन वटा आधारभूत स्वास्थ्य केन्द्र, नौ वटा सहरी स्वास्थ्य केन्द्र र एउटा आयुर्वेद औषधालय गरी २४ वटा स्वास्थ्य संस्था मार्फत नागरिकलाई सेवा प्रवाह गरिरहेको छ । यी स्वास्थ्य संस्थाको सेवालाई अझै प्रभावकारी बनाउन नगरपालिका लागि परेको छ । जनताको अपेक्षा असीमित छन् । तर स्थानीय सरकारसँग सीमित श्रोत हुँदा जनताको माग अनुसारका सबै काम गर्न सकेका छैनौँ । हाम्रो एक वर्षको समय बितिसकेको अवस्था छ । अब बाँकी रहेको समय जनताको अपेक्षा र आवश्यकता अनुसार शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि र पर्यटन, रोजगारीलाई प्राथमिकतामा राखेर काम गदै जान्छौँ । यसले नगरपालिकाको समृद्धिमा समेत टेवा पुग्ने हामीले अपेक्षा लिएका छौँ ।
(२) निर्वाचनमा जनता माझ गरेका प्रतिबद्धताहरू पुरा हुने गरी काम भएका छान् त ?
निर्वाचनताका हाम्रो व्यक्तिगत प्रतिबद्धता र पार्टीले पनि विभिन्न प्रतिबद्धता सहित घोषणा पत्र जारी गरेको थियो । घोषण पत्रमा हामीले त्यति धेरै गर्न नसक्ने ठुला कुराहरू राखेका थिएन । शिक्षा, स्वास्थ्य स्वरोजगार, पूर्वाधार र पर्यटनलाई जोड दिएका थियौँ । यी कुराहरू घोषणा पत्र भन्दा पनि जनप्रतिनिधिहरूको सामूहिक प्रतिबद्धता जे भएका छ त्यसैलाई आधार मानेर जानु पर्छ । अहिले निर्वाचन ताका गरेको प्रतिबद्धता र वाचा अनुसार काम गरिरहेकै छौँ। मन्थली नगरपालिकाले निर्वाचनताका जनतामाझ गरिएको प्रतिबद्धता अनुसार विकास आयोजनाहरू सञ्चालन गरी, प्रभावकारी सेवा प्रवाह सङ्गै सुशासन प्रदान गरिएको छ । हामीलाई कुनै एउटा पार्टीले टिकट दियो निर्वाचित भयौँ । मन्थली नगरपालिकामा झन्डै चार दलको प्रतिनिधित्व छ । र सबैको आफ्नो आफ्नो घोषण पत्र भए पनि साझा प्रतिबद्धता बनाएर समृद्ध नगरपालिका बनाउने गरी काम गरिरहेका छौँ ।
(३) सङ्घ र प्रदेश सरकारसँग मन्थली नगरपालिकाको समन्वय कस्तो छ ?
मुलुकको संविधान अनुसार सङ्घ, प्रदेश र स्थानीय सरकारको सम्बन्ध समन्वय , सहकार्य र सहअस्तित्व सिद्धान्तको आधारमा सञ्चालन भइरहेकै छ । हामी स्वतन्त्र पनि होइनौ , हामी निर्देशित पनि छैनौँ । यस कारण तीनै तहका सरकारबिच समन्वय , सहकार्य र सहअस्तित्व हुनुपर्छ भन्ने परिकल्पना गरिएको हो । मन्थली नगरपालिकाको सङ्घीय सरकार र प्रदेश सरकारसँग सुमधुर सम्बन्ध छ । तीनै सरकारबिच आवश्यक समन्वयमा काम भइरहेका छन् । बजेटकै कुरा गर्ने हो भने पालिकाहरूलाई जतिसुकै स्वायत्त स्थानीय सरकारका रूपमा जतिसुकै व्याख्या गरे पनि स्रोत साधनका हिसाबले कमजोर छन् । त्यसैले सङ्घीय सरकारले लगानी नगर्ने हो भने ,प्रदेश सरकारले बजेट नदिने हो भने स्थानीय तहले विकास निर्माण मात्रै हैन प्रशासनिक खर्च धान्न पनि समस्या हुन्छ । विशेष गरी अलि देखिने खालका योजना प्रदेशले र समुदाय सँग समन्वय र उहाँहरूको भावना समेटेर प्रदेशमा जाने गरी हामीले निरन्तर समन्वय गरी रहेका छौँ । सरकारका प्रतिबद्धता अनुसार र थपको योजना माग्ने कुरामा उपलब्ध गराइ दिन माग पनि गरेका छौँ । हाम्रो देशको विकास प्रक्रियामा ठुला ठुला आयोजनाहरू सङ्घीय सरकारले, स्थानीय सरकारको बुत्ता भन्दा बाहिरका काम प्रदेश सरकारले र स्थानीय आवश्यकताहरूको हाम्रो स्रोतबाट गर्नुपर्छ। त्यसैले मन्थली नगरपालिकाले सङ्घ र प्रदेश सरकारसँग प्रभावकारी समन्वय र सहकार्य गरिरहेको छ ।
(४) नगरपालिकामा बालमैत्री स्थानीय शासन लागु गर्न अहिले के कस्ता कामहरू भइरहेका छन् नि ?
२०८१ जेठ महिनाभित्र मन्थली नगरपालिकामा बालमैत्री स्थानीय शासन लागु हुन्छ । यसका लागि आवश्यक सूचकहरू प्राप्तिका लागि नगरपालिकाले प्रक्रियागत रूपमा विभिन्न अभियानहरू सञ्चालन गरिरहेको छ । अहिले बालमैत्री स्थानीय शासन लागू गर्न आवश्यक सूचकहरू प्राप्त गर्न नगरपालिकाको सबै वडामा बाल क्लब गठन, बाल सञ्जाल गठन, घरधुरी सर्वेक्षण, बालमैत्री विद्यालय लगायत सरकारले निर्धारण गरेको ५१ वटा सूचक प्राप्तिका लागि काम गरिरहेको छ । सरकारको एक खालको बालमैत्री स्थानीय शासन घोषण गर्ने नीतिअनुसार नै स्थानीय तहलाई अगाडि बढाउन सकिन्छ भनेर हामीले काम गरी रहेका छौँ । त्यो काम अघि बढाउनु भनेको झन्डै ५१ वटा सूचकहरू पुरा गर्नु पर्ने हुन्छ । त्यस कारण मन्थली नगरपालिकामा बाल मैत्री स्थानीय शासन लागु गरियो भने हामीले कल्पना गरेको समृद्ध नगरको एउटा सपना पुरा हुनेछ । यो सपना पुरा गर्नका लागि हामी सबै दृढका साथ लागि परेका छौँ । नगरपालिकाका १६ वटै वडाहरू यो अभियानमा सक्रियताका साथ लागि परेका छन् ।
शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनलाई प्राथमिकतामा राखेर काम गरिरहेका छौँ : लव श्रेष्ठ
- प्रकाशित मिति: आइतबार, असार २४ २०८०
- तामाकोशी