सोलुखुम्बु । सोलुखुम्बुमा किसानहरु चौरी पालन पेसाबाट पलायन हुने क्रम बढेको छ । पेसामा बढी कष्ट सहनुपर्ने र आम्दानी कम हुने भएपछि नयाँ पुस्ता पेसाबाटै पलायन हुने क्रम बढेको हो ।
विगत १० वर्षको तुलनामा चौरी पालन ९० प्रतिशतले घटेको चौरी पालन महासङ्घका जिल्ला अध्यक्ष नुरु शेर्पाले बताउनुभयो। उहाँका अनुसार अहिले सोलुखुम्बु जिल्लामा लगभग १ सय ५० जना कृषकले ५ हजार चौरी तथा याक पालन गर्दै आइरहेका छन् । आफ्नो पुर्ख्यौली पेसा चौरी पालन भए पनि विभिन्न कठिनाइका कारण चौरी पालन छाडेर छुर्पी, सेरग्याम, घिउ लगायतका अन्य दूग्धजन्य वस्तुको व्यापार गरिरहेको सोलुदूधकुण्ड नगरपालिका–४ फाप्लुका सार्की शेर्पाले बताउनुभयो । चौरी पालनका लागि खर्क पुग्नुपर्ने, चरण क्षेत्रमा निषेध हुने, बजारीकरणको समस्या हुने र गोठमा बस्ने कामदार नपाउने जस्ता कारणले व्यवसाय परिवर्तन गरेको शेर्पाको भनाइ छ । आम्दानी उस्तै भए पनि चौरी पालनभन्दा त्यसबाट बनेका दूधजन्य पदार्थ बेच्न सहज हुने उहाँले बताउनु भयो । सोलुदूधकुण्ड नगरपालिकाकै अर्का चौरी पालक व्यवसायी रिञ्जी शेर्पाले विगतको तुलनामा चौरी पालन व्यवसायमा युुवाहरुको आकर्षण घटेको बताउनु भयो । चरिचरणका लागि जङ्गलमा छाडिएका चौरीलाई जङ्गली जनावरहरुले आक्रमण गर्दा निकै समस्या भएको उहाँले बताउनु भयो । जिल्लाको ८ पालिकामध्ये थुलुङ दूधकोशी र नेचासल्यान गाउँपालिका बाहेकका अन्य पालिकाहरुमा धेरथोर चौरी पालन गर्ने कृषकहरु रहेका चौरी पालन व्यवसाय महासङ्घले जनाएको छ ।