रामेछाप । नेपाली कांग्रेस रामेछापमा फेरी विवाद चुलिएको छ । पार्टी सभापति पूर्णबहादुर तामाङ कान्छारामका विरुद्ध पार्टीका पूर्व जिल्ला सभापति रामचन्द्र खड्का लगायतका नेताहरूले पार्टी केन्द्रीय सभापति शेरबहादुर देउवा समक्ष उजुरी गर्नुभएको छ ।
नेपाली कांग्रेस जिल्ला कार्य समितिको आयोजनामा जेठ ३१ गते जिल्ला सम्मेलन हुने भन्ने खबर आफूहरूलाई सामाजिक सञ्जालबाट मात्र जानकारी भएको उहाँहरूले बताउनुभएको छ । पार्टीको जीवनमा महत्त्व राख्ने कार्यक्रमबारे सामाजिक सञ्जालबाट मात्र जानकारी आउनु दुःखद कुरा भएको उहाँहरूले बताउनुभएको छ । पार्टीले यस्ता कुरामा ध्यान दिएर गलत तरिकाले पार्टी सञ्चालन गर्ने नेतृत्वलाई कडा निर्देशन दिँदै पार्टीलाई सही बाटोमा हिँडाउन उहाँहरूले पार्टी केन्द्रीय सभापति समक्ष माग गर्नुभएको छ । तामाङ गत स्थानीय निर्वाचनमा विधान बमोजिम संसदीय बोर्ड गठन नै नगरी कुनै पनि मापदण्ड नअपनाई आफूखुसी टिकट वितरण गरेको उहाँहरूको निवेदनमा उल्लेख छ । क्रियाशीलता, लोकप्रियता र वरिष्ठतालाई बेवास्ता गर्दै आफ्नो निकटता र आर्थिक चलखेलका आधारमा टिकट वितरण गरेको उहाँहरूको आरोप छ ।
पार्टीको चौधौँ जिल्ला अधिवेशनको निर्वाचन सकिए पश्चात्ः मत गणना कार्य पूर्ण रूपमा समाप्त नहुँदै धाँधलीपूर्ण तरिकाले मत गणना गरी परिणाम सार्वजनिक गरेको आरोप पनि उहाँहरूको तामाङ माथि छ । उहाँका गलत कार्यका विरुद्ध फरक मत राख्नेलाई स्पष्टीकरण सोध्ने र स्पष्टीकरण दिने वैधानिक मार्ग हुँदाहुँदै आफूसँग असहमत भएकालाई व्यक्तिगत गालीगलौज गर्दै बाटो बाटोमा पदमुक्त गर्ने र नियुक्ति दिने कार्यले निरन्तरता पाएको उहाँहरूको गुनासो छ । तामाङ ठेकेदार पनि भएको र उहाँले आफ्नो कम्पनी मार्फत पुल, सडक लगायत जिल्लाका विकास निर्माणको काम ठेक्का लिई वर्षौँ बितिसक्दा पनि योजना अलपत्र पारिएको अवस्था रहेको र अलपत्र योजनाहरूलाई अघि सारेर अन्य पार्टीका मान्छेहरूले प्रश्न गर्दा नेपाली कांग्रेस निरुत्तर भई पार्टीको साख बचाउन कठिन भएको निवेदनमा उल्लेख छ । जेठ ३१ गते गर्ने भनिएको जिल्ला सम्मेलन कुनै वैधानिक धरातलमा नटेकी, जिल्लाका क्रियाशील नेताहरूसँग कुनै सुझाव सल्लाह नलिई आफू र आफ्ना आसेपासेको सल्लाहमा नेता कार्यकर्तालाई मानमर्दन गर्ने र कागजी रूपमा मात्र गरेको देखाउन खोजिएको उहाँहरूको भनाइ छ ।
