राष्ट्रपति रामचन्द्र पौडेलबाट आफ्नो अधिकारको दुरुपयोग भयो : विक्रम थापा

  • प्रकाशित मिति: सोमबार, जेष्ठ १५ २०८०
  • तामाकोशी

रामेछाप । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का बागमती प्रदेश अध्यक्ष विक्रम बहादुर थापाले राष्ट्रपति रामचन्द्र पौडेलले टीकापुर हत्याकाण्डका योजनाकार रेशम चौधरीलाई आममाफी दिएर आफ्नो अधिकारीको दुरुपयोग गरेको बताउनुभएको छ ।

राप्रपाको ३४ औँ स्थापना दिवसका अवसरमा राप्रपा जिल्ला कार्य समिति रामेछापले सोमबार सदरमुकाम मन्थलीमा आयोजना गरेको चियापान कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । सरकारले सर्वोच्च अदालतको आदेशको बलमिचाइँ गरेर चौधरीलाई आममाफी दिन सिफारिस गरे पनि यसमा राष्ट्रपतिले पनि आफ्नो अधिकारको दुरुपयोग गर्नु गलत भएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो ‘‘रेशम चौधरी रिहा हुनुमा मेरो दुई मत छैन । तर त्यहाँ कुनै हातहतियार बिना गएको एसपी सहित अधा दर्जन बढी सुरक्षाकर्मी मारिएका छन्, २ वर्षको नाबालकको बीभत्स हत्या भएको छ, घटनाको सत्य के हो हेर्नु पर्छ की पर्दैन’’ । यस्तो कुराहरूमा आवश्यकताका आधारमा निर्णय गर्नेभन्दा पनि सरकारले कानुनको शासन मान्नुपर्नेमा उहाँको जोड छ । नेपालमा आएका सबै भ्रष्ट्राचारका काण्डहरूमा निष्पक्ष रूपमा छानबिन हुनुपर्ने र भ्रष्ट्राचार जस्तो आपराधिक कार्यमा संलग्न जो कोहीलाई कानुन अनुसारको कारबाही हुनुपर्ने उहाँको भनाइ छ । राष्ट्रिय प्रजातन्त्र पार्टी भ्रष्ट्राचार जन्य सबै अपराधमा संलग्नलाई कारबाहीको दायरामा ल्याउनुपर्छ भन्ने पक्षमा रहेकाले पञ्चायत कालदेखि उच्च ओहदामा पुगेकाहरूमाथि छानबिन गर्नुपर्नेमा उहाँको जोड छ । आफू पनि पटक पटक मन्त्री बनिसकेकाले भ्रष्ट्राचार बारे आफूबाटै छानबिन सुरु गरे आफू तयार रहेको उहाँले बताउनुभयो ।