रामेछाप । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रधानमन्त्री र मन्त्रीहरूले हिरोवाद देखाइरहेको बताउनुभएको छ । बुधवार प्रेस चौतारी नेपाल रामेछापले सदरमुकाम मन्थलीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै यो शरणार्थी प्रकरणमा अहिले हिरोवाद नभै सत्य तथ्य चाहिएको बताउनुभयो । ‘ प्रधानमन्त्री, मन्त्रीहरूको पनि पार्लियामेन्ट कमिटीहरू मै छाडिन्न भन्ने ठुला ठुला हिरोइज्मका कुरा मात्रै सुनिन्छ, अहिले हामीलाई हिरोइज्म चाहिएको होइन, सत्य तथ्य चाहिएको हो’, उहाँले भन्नुभयो । यो प्रकरणको छानबिन प्रधानमन्त्री र मन्त्रीले गर्ने नभै प्रहरी प्रशासनले गर्ने भएकाले हिरोवाद नदेखाई सरकार निष्पक्ष छानबिन गछौं भनेर लाग्नुपर्ने उहाँको जोड छ । उहाँले भन्नुभयो ‘‘एउटा पन्च लाइन हामीले भन्दै आएका छौँ, यो प्रकरणमा निर्दोष कोही नफसुन् र दोषी कोही नछुटुन्’’। यस्ता अन्य काण्डहरू पनि धेरै रहेकाले चर्चामा आएका सबै काण्डहरूमा प्रहरीले निष्पक्ष रूपमा छानबिन गर्नुपर्ने नेकपा एमालेको प्रस्ट धारणा रहेको उहाँले बताउनुभयो । सरकारको नीति कार्यक्रम संसद्मा राष्ट्रपतिले प्रस्तुत गर्ने संविधान र सङ्घीय कानुन व्यवस्था भए पनि विभिन्न बहानामा वर्तमान सरकारको प्रधानमन्त्रीले बजेट प्रस्तुत गर्ने तयारी गरिरहेकाले यो कुरा नेकपा एमालेलाई मान्य नहुने उहाँको भनाइ । उहाँले भन्नुभयो ‘‘हाम्रो संविधान र सङ्घीय कानुनले के भन्छ भने सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले वाचन गर्नुपर्छ, तर अहिले राष्ट्रपति बिरामी भएको भन्दै प्रधानमन्त्रीले नै नीति कार्यक्रम वाचन गर्ने कुरा आएको छ, हामी एउटा रचनात्मक विपक्षीको हिसाबले के भन्न चाहन्छौ भने यो गलत हो’’। राष्ट्रपतिको अस्वस्थतालाई देखाएर नेपालको संविधानमाथि नै चलखेल गर्न नमिल्ने उहाँको भनाइ छ । ‘यदि राष्ट्रपति अस्वस्थ नै हो, उहाँले सांसदलाई सम्बोधन गर्न सक्नुहुन्न भने उहाँले उपराष्ट्रपतिलाई कार्यवाहक तोक्नुपर्छ, उपराष्ट्रपति पनि उपलब्ध हुनुहुन्न भने तत्कालका लागि राष्ट्रपतिले गर्ने काम चाही प्रतिनिधिसभाको सभामुखले गर्नुपर्ने संवैधानिक व्यवस्था छ’,उहाँले भन्नुभयो । अहिलेको सरकारका प्रधानमन्त्रीले हिँड्ने सिधा बाटोमा नहिँडेर राष्ट्रपतिले गर्ने काम पनि मै गर्छु भनेर नयाँ नजिर बसाउन खोजेको हो भने त्यसको एमालेले विरोध गर्ने उहाँको भनाइ छ ।
भुटानी शरणार्थी प्रकरणमा प्रधानमन्त्री र मन्त्रीहरुले हिरोइज्म देखाए : विष्णु रिमाल
- प्रकाशित मिति: बुधबार, जेष्ठ ३ २०८०
- तामाकोशी