रामेछाप । आज ३० औँ मदन–आश्रित स्मृति दिवस रामेछापमा पनि मनाइएको छ। मदन–आश्रित स्मृति दिवसका अवसरमा आज नेकपा एमाले रामेछापले सदरमुकाम मन्थली स्थित मदन आश्रितको प्रतिमामा पुष्प गुच्छा अर्पण गरेर मदन आश्रितको सम्झना गरेको छ । मदन आश्रित स्मारक समितिको आयोजनामा नेकपा एमाले रामेछापका अध्यक्ष एवं वाग्मती प्रदेश सभा सदस्य आनन्द श्रेष्ठको प्रमुख आतिथ्ययतामा भएको कार्यक्रममा मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठ, वाग्मती प्रदेश कमिटी सदस्य गोपाल श्रेष्ठ, पार्टी उपाध्यक्ष इन्द्र तामाङ लगायतका नेताहरू, जनप्रतिनिधिहरू, युवा, विद्यार्थी लगायतको सहभागिता रहेको नेकपा एमाले रामेछापका उपसचिव प्रकाशकुमार कार्कीले बताउनुभयो । स्मृति दिवसकै अवसरमा आज दिउँसो नेकपा एमाले रामेछापले पार्टीको कार्यालय भवन शिलान्यास गर्दै छ । नेकपा एमाले उपमहासचिव विष्णु रिमालले भवनको शिलान्यास तथा पार्टीमा योगदान गर्ने नेताहरूलाई सम्मान गर्ने कार्यक्रम रहेको छ । २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा जिप दुर्घटना परी नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी तथा सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको थियो । रहस्यमय मानिने यो दुर्घटनाबारे अहिलेसम्म भएको छानबिनले कुनै तथ्य निकाल्न सकेका छैनन् । दुर्घटनाका एक मात्र साक्षी तथा भण्डारी र आश्रित चढेको जिपका चालक अमर लामाको समेत हत्या भएपछि यो घटना झनै रहस्यमय बन्न पुगेको छ । कम्युनिस्टहरू नागरिकबाट चुनिएर मात्र सत्तामा पुग्नुपर्छ भन्ने मान्यता राख्ने भण्डारीले नागरिकको बहुदलीय जनवादको विकास गर्नुभएको थियो । २००९ साल असार १४ गते ताप्लेजुङमा जन्मिएका भण्डारी जननेताका रूपमा चिनिनुहुन्छ ।
