काँग्रेसले कार्यशैली बदल्नुपर्छ : नेता सिंह

  • प्रकाशित मिति: मंगलबार, बैशाख १९ २०८०
  • तामाकोशी

रामेछाप । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेसले आफ्नो कार्यशैलीलाई तत्काल बदल्नु पर्ने बताउनुभएको छ । काँग्रेस रामेछापले मङ्गलवार सदरमुकाम मन्थलीमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा नेता सिंहले तत्कालै पार्टीको नीति अधिवेशन गरेर बदलिएको परिस्थितिमा कसरी अघि बढ्ने भन्ने सन्दर्भमा कार्यकर्ता माझ बसेर समीक्षा गर्नुपर्ने बताउनुभयो । ‘परम्परागत प्रचार र पार्टी निर्माण शैलीले मात्रै आगामी चुनौती सामना गर्न सकिँदैन, अब नयाँ पुस्ताको भावना र चाहना समेटेर अघि बढ्नुको विकल्प छैन’, उहाँले भन्नुभयो । पार्टी सुधारको एक मात्र विकल्प विधि सम्मत पार्टी सञ्चालन भएकाले अब यसमा गम्भीरताका साथ लाग्नु पर्ने उहाँको भनाइ छ । उहाँले सामाजिक सञ्जालमा अहिले काँग्रेस नेताहरूले एक अर्का विरुद्ध बिषबमन गर्ने प्रवृत्तिले कसैको हित नहुने भन्दै त्यसमा ख्याल गर्न आग्रह गर्नु भयो । नेता सिंहले पछिल्लो समय काँग्रेसभित्र मूल्याङ्कन पद्धति नभएकाले दुख र मेहनत गरेका नेता कार्यकर्ता पाखा पर्दै गएका समेत उल्लेख गर्नुभयो । काँग्रेसलाई जनताको बिचमा लोकप्रिय पार्टी बनाउन सकिने भन्दै त्यसका लागि सबैले निराश नभई सबैले आ–आफ्नो लाग्न पनि सिंहले नेता कार्यकर्तालाई आग्रह गर्नुभयो । कार्यक्रममा काँग्रेस नेता तथा वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीले काँग्रेसले आफ्नो नीति र कार्यशैलीमा गम्भीर समीक्षा गरेर अघि बढ्न नसके आगामी दिन सहज नहुने भन्दै यसमा गम्भीरता साथ सोच्नु पर्नेमा जोड दिनुभयो ।