शान्ति सुरक्षाको व्यवस्था चुस्त बनाउन एमाले रामेछापको माग

  • प्रकाशित मिति: शनिबार, बैशाख १६ २०८०
  • तामाकोशी

रामेछाप । नेकपा एमाले रामेछापले सो पार्टीका अध्यक्ष केपी शर्मा ओली माथि भएको आक्रमण प्रयासको निन्दा गरेको छ । बुधवारदेखि कोसी प्रदेशको पार्टीका विभिन्न कार्यक्रममा भाग लिन निस्कनु भएका ओली माथि साङ्घातिक आक्रमणको प्रयास र कार्यक्रम बिथोल्न भइरहेको प्रयासप्रति एमाले रामेछापले निन्दा र भर्त्सना गरेको छ । ‘पहिचानको आन्दोलनको नाममा विगत केही दिन यता कोसी प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्रीहरू, प्रदेश सभाका सदस्यहरू, सरकारी कार्यालयहरू र नेकपा एमालेका नेताहरूमाथि मात्र लक्षित गरी व्यक्तिगत गाली गलौच, सामाजिक दुर्व्यवहार र भौतिक हमला गर्ने जस्ता निकृष्ट किसिमका कुकृत्यहरूकै निरन्तरताको रूपमा प्रकट भएको यो घटनाबाट आन्दोलनकारीहरूको अभीष्ट पहिचान स्थापित गर्न नभई नेकपा एमाले माथि सुनियोजित किसिमले प्रहार गर्नु मात्र रहेछ भन्ने तथ्य प्रमाणित भएको छ’, एमाले जिल्ला अध्यक्ष आनन्द श्रेष्ठले शुक्रबार जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । कोसी प्रदेशको नामाकरण संविधान र कानुन बमोजिम प्रक्रियागत ढङ्गले टुङ्गो लागिसकेको विषयमा सत्तारुढ दलकै नेता कार्यकर्तालाई उचालेर यस प्रकारका अवाञ्छित क्रियाकलाप हुनु आपत्तिजनक रहेको एमाले रामेछापले जनाएको छ । नेपालको संविधान २०७२ ले व्यवस्था गरे अनुसार प्रदेशको नामाकरण सम्बन्धित प्रदेश सभामा तत्काल कायम रहेका सदस्य सङ्ख्याको दुई तिहाइ बहुमतबाट निर्णय भए बमोजिम हुने गरी व्यवस्था गरिएको तर्फ विज्ञप्ति मार्फत सम्बन्धित सबैको ध्यानाकर्षण गराइएको छ । संविधान अनुरूप प्रदेशसभाले गरेको निर्णयलाई मुलुकको प्रधानमन्त्री जस्तो जिम्मेवार व्यक्तिले गलत भएको अभिव्यक्ति दिनुले प्रदेश सभाको निर्णयलाई अवमूल्यन गरेको र अराजक तथा उद्दण्डतालाई प्रश्रय दिँदै संविधान, कानुन र प्रचलित मूल्य मान्यतालाई धज्जी उडाउने काम भएकोले यस्ता कार्य निन्दनीय भएको एमालेले जनाएको छ । ‘गैर जिम्मेवार अभिव्यक्ति मार्फत संघीय लोकतान्त्रिक गणतन्त्र, समग्र राज्य व्यवस्था, सामाजिक सद्भाव र एकतालाई कमजोर बनाउने र साम्प्रदायिक विद्वेष फैलाउने गरी आफ्नो अभिव्यक्ति दिने प्रधानमन्त्रीलाई सार्वजनिक रूपमा माफी माग्न र पार्टीका श्रद्धेय अध्यक्ष कमरेड केपी शर्मा ओलीमाथि आक्रमणको प्रयास गर्नेहरूलाई कानुनी दायरामा ल्याई कानुन बमोजिम कारबाही गर्न र शान्ति सु–व्यवस्था कायम गर्न सरकारसँग माग गर्दछ’, विज्ञप्तिमा लेखिएको छ ।