रामेछाप । रामेछाप नगरपालिकाले चालु आर्थिक वर्ष ०७९/८० को दोस्रो चौमासिक अवधिसम्ममा चालु र पुँजीगत गरी जम्मा ५०.४२ प्रतिशत प्रगति हासिल गरेको छ । नगरपालिकाद्धारा सञ्चालित विकास आयोजना तथा कार्यक्रमहरुको प्रभावकारीता तथा सेवा प्रवाहको अवस्था विषयक सार्वजनिक सुनुवाई कार्यक्रममा विहिबार प्रस्तुत प्रगति विवरण अनुसार विनियोजित बजेटको चालु तर्फ ५७.७६ प्रतिशत र पुँजीगत तर्फ ३७.७९ प्रतिशत खर्च भई समग्रमा ५०.४२ प्रतिशत प्रगति हासिल गरेको हो ।
प्रमुख प्रशासकिय प्रमुख निरोज पौडेलद्धारा सार्वजनिक प्रगति विवरण अनुसार दोस्रो चौमासिक अवधिसम्ममा रु. ५४ लाख ६ सय ४३ राजश्व संकलन गरेको छ । ९ वटा वडा कार्यालयहरुबाट रु. २४ लाख ७८ हजार ४५ र रामेछाप नगरपालिका राजश्व शाखाबाट रु. २९ लाख २२ हजार ५ सय ९८ गरी कुल रु. ५४ लाख ६ सय ४३ राजश्व संकलन गरेको हो । यसैगरी राजश्व, उद्योग तथा सहकारी तर्फ ८०.४५ प्रतिशत प्रगति हासिल गरेको छ भने गरिवि निवारणका लागि लघु उद्यम विकास कार्यक्रम तर्फ ३९.१२ प्रतिशत प्रगति हासिल भएको छ ।
समग्र स्वास्थ्य तर्फ विनियोजित कुल बजेट रु.५ करोड ३२ लाख रहेकोमा हालसम्म रु. ३ करोड ३८ लाख ४३ हजार १ सय ८८ खर्च भई ६३.६१ प्रतिशत वित्तिय प्रगति हासिल भएको छ । पशुपन्छी तथा मत्स्य विकास तर्फ ६०.२८ प्रतिशत प्रगति भएको छ भने शिक्षा युवा तथा खेलकुद तर्फ ६९.५२ प्रतिशत वित्तिय प्रगति भएको छ ।