मन्थलीमा रामेछाप सांस्कृतिक तथा सडक महोत्सव (फुड फेस्टिभल)

  • प्रकाशित मिति: शुक्रबार, बैशाख १ २०८०
  • तामाकोशी

रामेछाप । रामेछाप जिल्लामा पर्यटन प्रवर्द्धन गर्न र सुस्ताएको व्यापार व्यवसायलाई चलायमान बनाउन रामेछाप सदरमुकाम मन्थलीमा रामेछाप सांस्कृतिक तथा सडक महोत्सव (फुड फेस्टिभल) सुरु भएको छ । मन्थली नगरपालिका र रामेछाप नगरपालिकाको सहयोगमा रामेछाप होटेल तथा पर्यटन व्यवसायी सङ्घको सह आयोजनामा रामेछाप उद्योग वाणिज्य सङ्घले आयोजना गरेको महोत्सव शुक्रवारबाट महोत्सव सुरु भएको हो । महोत्सवमा सदरमुकाम मन्थलीको देवकोटा चोकदेखि कृषि विकास बैङ्क सम्म मुख्य सडकमै स्टलहरू निर्माण गरिएको छ । ती स्टलहरूमा रामेछाप जिल्लाको विभिन्न स्थानमा उत्पादित कृषि उपज तथा वस्तुबाट बनेका परिकारहरू, दुग्धजन्य वस्तु तथा जडीबुटी जन्य वस्तुहरू प्रदर्शनीमा राखिएको छ । महोत्सवले सुस्ताएको मन्थली बजारको व्यापार व्यवसायलाई चलायमान बनाउन सहयोग पुग्ने स्थानीय व्यवसायी सुदिप देवकोटाले बताउनुभयो । ‘विभिन्न कारणले पछिल्लो समय मन्थलीमा व्यापार व्यवसाय सुस्ताएको छ, यो सुस्ताएको बजारलाई चलायमान बनाउन यो फुड फेस्टिभल ठुलो राहत भएको छ’, उहाँले भन्नुभयो । जिल्ला भित्र रहेका उद्योगी तथा व्यवसायीहरूले उत्पादन गरेका तथा दैनिक उपभोग्य वस्तु सेवाहरूका साथै कृषिजन्य तथा हस्तकलाका समानहरू उपभोक्ता समक्ष परिचित गराई व्यवसाय विस्तार तथा प्रवर्द्धनमा सहयोग पु¥याउने उद्देश्यले महोत्सवको आयोजना गरिएको रामेछाप उद्योग वाणिज्य सङ्घका अध्यक्ष नवीन थापा मगरले बताउनुभयो । ‘मन्थलीको देवकोटा चोकदेखि कृषि विकास बैङ्क सम्म मुख्य सडकमै स्टलहरू बनाइएको छ, ती स्टलहरूमा स्थानीय स्तरमा उत्पादित कृषि उपज तथा वस्तुबाट बनेका परिकारहरू, दुग्धजन्य वस्तु तथा जडीबुटी जन्य वस्तुहरू राखिएको व्यवसाय विस्तार तथा प्रवर्द्धनमा सहयोग पुग्नेछ’, उहाँले भन्नुभयो । पछिल्लो समय सुस्ताएको बजार चलायमान बनाउन र पर्यटन प्रवर्द्धनमा रामेछाप सांस्कृतिक तथा सडक महोत्सव (फुड फेस्टिभल) ले सहयोग पुग्ने मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले बताउनुभयो । दुई दिनसम्म चल्ने फुड फेस्टिभल मन्थली नगरपालिकाको मन्थली बजार चलायमान बनाउन र यहाँको पर्यटन विकासका लागि पनि सहयोगी बन्नेछ, अहिले मन्थली विमान स्थलबाट व्यापक रूपमा लुक्ला उडान भइरहेको छ, यो फेस्टिभल लुक्ला जान मन्थली आउने पर्यटकलाई पनि मन्थली घुम्ने वातावरण बनाएको छ, उहाँले भन्नुभयो । दुई दिनमा ५० हजारले अवलोकन भ्रमण गर्ने अनुमान गरिएको महोत्सवको पहिलो दिन शुक्रवार रामेछाप जिल्लाका विभिन्न स्थानमा रहेका माझी, हायु, सुनुवार, नेवार, मगर तामाङ लगायतका जात जातिहरूले आफ्नो संस्कृति झल्कने झाकी प्रदर्शन गरेका छन् ।