रामेछाप । रामेछाप सदरमुकाम मन्थली स्थित मन्थली एयरपोर्ट अहिले विदेशी पर्यटकले भरिभराउ देखिन्छ । सोलुखुम्बु र सगरमाथा क्षेत्र भ्रमणका लागि विभिन्न देशबाट घुम्न आएका पर्यटकहरूलाई नागरिक उड्डयन प्राधिकरणले रामेछापको मन्थली विमानस्थलबाट सिजनेवल उडान मार्फत सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल लैजाने व्यवस्था गरेको छ । जसका कारण मन्थली विमान स्थल दैनिक बिहानै देखि पर्यटकहरूले खचाखच हुने गरेको छ । पर्यटकहरू काठमाडौँबाट विभिन्न ट्राभल्स एजेन्सीहरूले गाडी मार्फत मन्थली विमान स्थलसम्म ल्याउने गरेका छन् । मन्थली विमान स्थलबाट सोलुखुम्बु र सगरमाथा क्षेत्र भ्रमणका लागि सीता, तारा र समिट एयरले बोकिरहेका छन् । नागरिक उड्डयन प्राधिकरणले (वसन्त ऋतु) को चैतदेखि जेठ महिनासम्म र (शरद ऋतु) को असोज पहिलो सातादेखि मङ्सिरको १५ सम्म मन्थली विमान स्थल मार्फत सोलुखुम्बुको लुक्ला पर्यटक लाने गरेको छ । मन्थली नगरपालिका–१ स्थित तामाकोसी किनारमा रहेको मन्थली विमानस्थलबाट एकै दिन झन्डै ९०० सम्म विदेशी पर्यटकहरू सोलुखुम्बुको लुक्ला पुगेका छन् । रामेछापमा सदरमुकाम स्थित मन्थली रामेछाप विमानस्थलबाट दुई सिजन (वसन्त ऋतु) को चैतदेखि जेठ महिनासम्म र (शरद ऋतु) को असोज पहिलो सातादेखि मङ्सिर महिनाको १५ सम्म सोलुखुम्बुको लुक्ला स्थित तेन्जिङ हिलारी विमानस्थल उडान भइरहेको नागरिक उड्डयन प्राधिकरण मन्थली रामेछापका प्रमुख अशोक थापाले बताउनुभयो । ‘अहिले सीता, तारा र समिट एयरले मन्थली–लुक्ला उडान गरिरहेका छन्, यी तीन वटा एयरलाइन्सले दैनिक ३५० भन्दा बढी पर्यटकलाई लुक्ला पु¥याइरहेका छन्’, उहाँले भन्नुभयो । यो सिजन सुरु भएपछि सबै भन्दा बढी झन्डै ९०० पर्यटक एकै दिन मन्थली विमान स्थलबाट लुक्ला पुगेको उहाँले बताउनुभयो । ‘यो सिजनमा सबै भन्दा बढी चैत २० गते सोमबार झन्डै ९०० पर्यटक लुक्ला पुगेका छन्, यसरी मन्थली विमान स्थलबाट लुक्ला पुग्ने पर्यटकमा अमेरिकन, युरोपियन र भारतीय नागरिक बढी छन्’, उहाँले भन्नुभयो ।
विमान स्थल पर्यटकले भरिभराउ, व्यापार सामान्य
विमान स्थल विदेशी पर्यटकहरूले भरिभराउ हुँदा मन्थलीको व्यापार व्यवसाय भने शून्य जस्तै छ । विमान स्थलमा विदेशी पर्यटकको खचाखच हुँदा मन्थली बजार क्षेत्रमा यो सिजनमा पर्यटकहरू खासै देखिएका छैनन् । विमान स्थलबाट उडान गरिरहेका एयरलाइन्सहरूले फ्लाइटको समय तालिका जानकारी गराउने र त्यही समय तालिका अनुसार ट्राभल्स एजेन्सीहरूले काठमाडौँ, सिन्धुलीको मुलकोट लगायतका स्थानबाट गाडीमा ल्याएर सिधै लुक्ला पर्यटकहरू पठाउने गरेका छन् । जसका कारण पर्यटकहरू मन्थली विमान स्थलबाट सिधै लुक्ला गइरहेका छन् । जसका कारण मन्थली बजार क्षेत्रका व्यवसायिहरुलाई मन्थली विमान स्थल पर्यटकले खचाखच हुनु कागलाई बेल पाक्यो हर्ष न विस्मित जस्तै भएको छ । मन्थलीमा घुम्ने, खाने र डुल्ने पर्यटकहरूले देखिँदैनन्। फलतः त्यसले पर्यटन क्षेत्रले अपेक्षा गरे अनुसारको योगदान पु¥याउने सकेको छैन । मन्थली विमान स्थलबाट दैनिक ठुलो सङ्ख्यामा विदेशी पर्यटकहरू लुक्ला पुगिरहेका भए पनि मन्थलीका होटेल, पसल तथा रेस्टुरेन्टहरूको व्यापार भने सामान्य रहेको रामेछाप होटेल तथा पर्यटन व्यवसायी सङ्घका अध्यक्ष शेखरमान श्रेष्ठ बताउनुहुन्छ । ‘मन्थली विमान स्थलबाट दैनिक झन्डै ४०० पर्यटक लुक्ला पुगिरहेका छन्, तर मन्थलीमा रहेका होटेल, पसल तथा रेस्टुरेन्टहरूको व्यापार सामान्य छ, मन्थलीमा पर्यटकलाई बस्ने र खाने राम्रो होटेल छैन भन्ने जस्ता गलत समाचार सम्प्रेषण हुँदा असर परेको हो’,उहाँले भन्नुभयो । मन्थलीमा दैनिक एक हजार जनासम्म पर्यटकहरूलाई व्यवस्थित बसोबास र खान पिनको राम्रो सेवा दिन सक्ने क्षमताका होटेल रहेको र सबै होटेलले रामेछाप होटेल तथा पर्यटन व्यवसायी सङ्घले तयार पारेको दर रेट अनुसार सेवा दिइरहेको उहाँले बताउनुभयो ।
मन्थली विमान स्थल पर्यटकले भरिभराउ, बढ्न सकेन मन्थलीको व्यापार
- प्रकाशित मिति: बिहिबार, चैत्र ३० २०७९
- तामाकोशी