रामेछाप । रामेछापको मन्थली नगरपालिकाले नगरको पर्यटन विकास गर्न आगामी योजना तथा कार्यक्रम बनाउन सरोकारवालाहरूसँग सुझाव लिएको छ । नगरपालिकाले शुक्रवार मन्थली नगरपालिकाको पर्यटन विकासको सम्भावना, अवसर र चुनौती विषयक अन्तरक्रिया कार्यक्रम गरी जिल्ला स्थित सरोकारवालासँग सुझाव लिएको हो । कार्यक्रममा सहभागीहरूले नगरपालिकामा पर्यटन विकासका लागि मन्थली एयरपोर्टको दिगो विकास, मन्थली बजारमा व्यवस्थित पार्किङ, मन्थली बजारको दिगो फोहोर व्यवस्थापन, हरियाली व्यवस्थापन गरी खुला ठाउँमा व्यवस्थित पार्क निर्माण गर्न सुझाव दिएका छन् । निर्माणाधीन तीनलाल स्मृति पर्यटकीय पार्क लगायत नगरपालिका भित्र निर्माणाधीन पूर्वाधारहरू समयमै काम नहुँदा अलपत्र बनेकाले त्यस्ता संरचनाहरूको काम सक्न नगरपालिकाले तत्काल पहल कदमी लिनुपर्ने उनीहरूको सुझाव छ । मन्थली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद चापागाईँले मन्थली नगरपालिकामा पर्यटन विकासका लागि अहिले लुक्ला उडान भइरहेको मन्थली एयरपोर्टको दिगो व्यवस्थापन, मन्थली बजारमा व्यवस्थित पार्किङ र बजार क्षेत्रको फोहोरको दिगो व्यवस्थापन गर्न अत्यावश्यक देखिएकाले नगरपालिकाले सोही अनुसार योजना बनाउने तयारी गरिरहेको बताउनुभयो । रामेछापकी प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले नगरको पर्यटन विकासका लागि प्राकृतिक र मानव निर्मित सम्पदाहरूको संरक्षण र व्यवस्थापन गरी आवश्यक पूर्वाधार निर्माण गर्नुपर्ने बताउनुभयो । नगरले हरियालीको व्यवस्थापन, खुला स्थानमा पार्क निर्माण गरी बजारको व्यवस्थापन र सौर्न्दर्यताका लागि काम गर्नुपर्ने उहाँको भनाइ छ । मन्थली बजार क्षेत्रको मुख्य सडकमै पार्किङ भइरहेकाले नगरपालिकाले तत्काल व्यवस्थित पार्किङको व्यवस्थापन गर्नुपर्ने उहाँको भनाइ छ । मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले कार्यक्रमबाट आएका सुझावहरूलाई समावेश गरी नगरपालिकाको पर्यटन विकासका लागि आगामी योजना तथा कार्यक्रम बन्ने बताउनुभयो । सरोकारवाला सबै सँग आवश्यक समन्वय र सहकार्यमा नगरपालिका पर्यटन विकासमा लाग्ने उहाँको भनाइ छ । मन्थली बजार व्यवस्थापनका लागि व्यवस्थित पार्किङको खोजी नगरले गरिरहेको बताउँदै नगर प्रमुख श्रेष्ठले नगरभित्र निर्माणाधीन भौतिक संरचनाहरूको काम समयमै सक्न ताकेता गरिरहेको बताउनुभयो । नगरप्रमुख श्रेष्ठले अहिले लुक्ला उडान भइरहेको मन्थली एयरपोर्ट व्यवस्थापनका विषयमा धेरै कुराहरू आइरहेकाले यसबारेमा नगरपालिकाले सम्बन्धित निकायसँग कुरा गरिरहेको बताउनुभयो । मन्थली एयरपोर्ट व्यवस्थापनमा नागरिक उड्डयन प्राधिकरण गम्भीर नबन्दा समस्या भइरहेको उहाँको भनाइ छ । अहिले नागरिक उड्डयन प्राधिकरणले रामेछापको मन्थली विमानस्थललाई बेस बनाएर लुक्लामा उडान गरिरहेको छ । मन्थली एयरपोर्टबाट एकै दिन ५७ सम्म उडान हुँदा ९०० पर्यटक लुक्ला पुगिरहेका छन् ।
पर्यटन विकासका लागि योजना बनाउन मन्थली नगरपालिकाले लियो सुझाव
- प्रकाशित मिति: शुक्रबार, चैत्र २४ २०७९
- तामाकोशी