रामेछाप । रामेछापको मन्थली नगरपालिका वडा नं ७ भटौली स्थित कौछिनीमा बोलेरो दुर्घटना हुँदा ४ जनाको घटना स्थलमै मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । बिहीबार अपराह्न सदरमुकाम मन्थलीबाट १५ जना यात्रु बोकेर मन्थली नगरपालिका वडा नं ७ भटौलीको कौछिनी जाँदै गरेको बा ११ च ५५३ नम्बरको बोलेरो कौछिनी स्थित मगर टोलमा सडकबाट तल खस्दा घटना स्थलमै ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजु प्रसाद ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा मन्थली नगरपालिका वडा नं ७ भटौली कौछिनीकी ८२ वर्षिया नन्दमाया भण्डारी, ५५ वर्षकी ज्ञान दानी तामाङ, ६८ वर्षका जनसुन तामाङ र सुनापति गाउँपालिका वडा नं १ गुन्सीकी ८ वर्षकी लाक्पा घिसिङको घटना स्थलमै मृत्यु भएको हो । बोलेरो उकालो मोड्दा ब्रेक नलागेपछि सडकबाट तल खसेको प्रहरीको अनुमान छ । दुर्घटनामा घाइते भएकालाई ११ जनालाई उपचारका लागि सदरमुकाम मन्थली ल्याइएको छ । घाइते ११ मध्य चालक सहित केहीको अवस्था गम्भीर छ ।
रामेछापको कौछिनीमा बोलेरो दुर्घटना : ४ को मृत्यु, ११ घाइते(मृतकको नाम सहित)
- प्रकाशित मिति: बिहिबार, चैत्र २३ २०७९
- तामाकोशी