रामेछाप । नेपाली काँग्रेस रामेछापले केही दिनदेखि जिल्लामा बढ्दो रूपमा रहेको आगलागी (डढेलो)का घटना नियन्त्रणका लागि होसियारीका साथ सक्रिय रूपमा लाग्न सबैमा आह्वान गरेको छ । बुधवार काँग्रेस रामेछापका कार्यबहाक सभापति लेखबहादुर कार्कीले एक प्रेस विज्ञप्ति जारी गरी यस्तो आह्वान गर्नुभएको हो । काँग्रेस रामेछापले विगत केही दिनदेखि रामेछापको मन्थली र रामेछाप नगरपालिका लगायत जिल्लाका विभिन्न ठाउँमा रहेका वनहरूमा आगलागी भई जङ्गल विनाश भइरहेको र केही ठाउँमा व्यक्तिका घर गोठहरू समेत जलेर सम्पत्तिको क्षति भएको प्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । वनमा आगो लगाउने कार्य कानुनी र पर्यावरणीय रूपमा जघन्य अपराध भएकाले वनमा आगो लगाउने व्यक्तिको पहिचान गरी कानुनी कठघरामा उभ्याउने कार्यमा सहयोग गर्न र आगलागी नियन्त्रणमा होसियारीका साथ सक्रिय सहभागी हुन नेपाली काँग्रेस अन्तरगतका सबै तहगत कार्यसमितिहरू, भातृ एवं शुभेच्छुक संस्थाहरूलाई हार्दिक अनुरोध गर्दछु कार्यबहाक सभापति कार्कीले जारी गर्नुभएको प्रेस विज्ञप्तिमा भनिएको छ ।
