एमाले रामेछापले भन्यो : डढेलो नियन्त्रणका लागि सामूहिक प्रयास गरौँ

  • प्रकाशित मिति: बुधबार, चैत्र १५ २०७९
  • तामाकोशी

रामेछाप । नेकपा एमाले रामेछापले आगलागी(डढेलो) नियन्त्रणका लागि सामूहिक प्रयास गर्न सवैमा आह्वान गरेको छ । एमाले रामेछापका अध्यक्ष एवं वाग्मती प्रदेश सभा सदस्य आनन्द कुमार श्रेष्ठले बुधवार एक अपिल जारी गरी केही दिनदेखि रामेछापको विभिन्न भू–भागका वन क्षेत्रमा भइरहेको आगलागी(डढेलो)का घटनाहरू प्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै डढेलो नियन्त्रणका लागि सामूहिक प्रयास गर्न सबैमा आह्वान गर्नुभएको हो । एमाले रामेछापले वनजंगल र वन्यजन्तुको संरक्षण गर्नु मानव जातिको मुख्य दायित्व भएकाले जनसमुदाय, सामुदायिक वन उपभोक्ता समूहहरू,नेकपा एमालेको स्थानीय पार्टी किमिटीहरु, जनवर्गिय सङ्गठन र सम्पूर्ण समुदायलाई डढेलो नियन्त्रणमा जुट्न आह्वान गरेको छ । एमाले रामेछापले डढेलो नियन्त्रणका लागि दीर्घकालीन योजना निर्माण गरी स्रोत साधन र जनशक्तिको समयमै उचित व्यवस्था र परिचालन गर्ने र समुदाय स्तरमा जनचेतनामूलक अभियानहरू चलाउन सङ्घ, प्रदेश, स्थानीय सरकार र सम्बन्धित सरोकारवाला पक्षसँग माग गरेको छ ।