रामेछाप । रामेछाप जिल्लामा पहिलो पटक अल्ट्रा म्याराथन प्रतियोगिता भएको छ । जिल्लाको ऐतिहासिक धार्मिक र पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले शनिवार सुनापति–सैलुङ अन्तर्राष्ट्रिय अल्ट्रा म्याराथन प्रतियोगिता गरिएको हो । प्रतियोगीमा ५५ किलोमिटर दौडमा सोलुका धावक सुमन कुलुङ प्रथम हुनुभएको छ । कुलुङले उक्त दुरी ५ घण्टा २६ मिनेट ५८ सेकेन्डमा पूरा गर्नुभएको थियो । प्रतियोगितामा वेदबहादुर सुनुवार दोस्रो र धावक दुर्गाराज बुद्ध तृतीय हुनुभएको छ । सुनापतिबाट शनिवार बिहान ७ बजे सुरु भएको प्रतियोगिताका धावकहरू सुनापति डाँडा, खाँडादेवी मन्दिर, गाल्वा, अग्लेश्वर, दोरम्बा, डाँडाकटेरी, धारा, राजभर गुफा, छाँगा, घले डाँडा हुँदै सैलुङ पुगेका थिए । त्यसै गरी २५ किलोमिटर लामो सुनापति–सैलुङ अन्तर्राष्ट्रिय अल्ट्रा म्याराथनमा भने मोहन देव जोशी प्रथम हुनुभएको छ । जोशीले उक्त दुरी ३ घण्टा ८ मिनेट ३९ सेकेन्डमा पूरा गर्नुभएको थियो । उक्त म्याराथनमा देवराज महतराले ३ घण्टा १० मिनेट १० सेकेन्डमा उक्त दुरी पूरा गरी दोस्रो हुँदा होमलाल श्रेष्ठले ३ घण्टा १४ मिनेट ५ सेकेन्ड उक्त दुरी पूरा गरी तेस्रो हुनुभएको छ । राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको प्रतियोगिताको प्रतिनिधिसभा सदस्य पूर्णबहादुर तामाङ (कान्छाराम) राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव सचिव टङ्कलाल घिसिङलगायतले शुभारम्भ गर्नुभएको थियो ।
सुनापति–सैलुङ अन्तर्राष्ट्रिय अल्ट्रा म्याराथन प्रतियोगितामा सुमन कुलुङ प्रथम
- प्रकाशित मिति: आइतबार, चैत्र ५ २०७९
- तामाकोशी