रामेछाप । चैत्र ५ गते रामेछाप सदरमुकाम मन्थलीमा रहेको मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसमा त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन हुँदै छ । मन्थली क्याम्पसको स्ववियु निर्वाचनमा नेकपा एमालेको विद्यार्थी सङ्गठन अनेरास्ववियु पुष्कर भट्टराईको नेतृत्वमा चुनावी मैदानमा होमिएको छ । यता नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी सङ्घ (नेविसंघ), नेकपा माओवादी केन्द्र निकट विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) विद्यार्थी सङ्गठन र एकीकृत समाजवादी पार्टी निकट विद्यार्थी सङ्गठन अभिनाश कार्कीको नेतृत्वमा चुनावी मैदानमा छन् । अहिले देशको बदलिएको राजनीतिक परिस्थिति अनुसार स्ववियु निर्वाचनमा एमालेको विद्यार्थी सङ्गठन एक्लै चुनावमा होमिदा देशको प्रमुख पार्टी नेपाली काँग्रेस, तेस्रो पार्टी माओवादी केन्द्र लगायत दलका विद्यार्थी सङ्गठन गठबन्धन बनाएर निर्वाचनमा होमिएका छन् ।
को हुन् अनेरास्ववियुबाट स्ववियु सभापतिका उम्मेदवार पुष्कर भट्टराई ?
वि।स २०५३ साल कार्तिक ९ गते हालको रामेछाप जिल्ला मन्थली नगरपालिका ३ कठजोर, साबिक कठजोर गाविसको वडा नं ३ अर्चलेमा जन्मनुभएका भट्टराईले कक्षा १ देखि कक्षा ५ सम्मको शिक्षा गाउँकै आधारभूत विद्यालय अर्चलेमा लिनुभयो । भट्टराईले कक्षा ६ देखि कक्षा १० सम्म श्री चण्डेश्वरी मावि लिखुतामाकोशी गाउँपालिका २ सुपैबाट अध्ययन गर्नुभयो ।
विद्यालयको सानै कक्षादेखि देशको राजनीतिक अवस्थाका बारेमा चासो राख्ने स्वभाव भएका भट्टराई विद्यालयमा साना कक्षाहरूको अध्ययन गर्दै गर्दा पढाइ सँगै राजनीतिक जीवनमा पनि सक्रिय हुनुहुन्थ्यो । यही क्रममा भट्टराईले चण्डेश्वरी मावि सैपुमा कक्षा ८ मा अध्ययन गर्दै गर्दा २०६७ सालमा अनेरास्ववियुको सदस्य लिनुभयो । त्यसपछि सो विद्यालयमा अध्ययन गर्दै गर्दा विद्यार्थी राजनीतिमा उहाँ थप सक्रिय बन्दै जानुभयो । भट्टराईले आफ्नो विद्यार्थी राजनीतिकको सक्रियता सँगै निलकण्ठेश्वर मावि मन्थली नगरपालिका २ कठजोरबाट कक्षा ११ र १२ को शिक्षा लिनुभयो । यही विद्यालयमा कक्षा १२ सम्मको अध्ययन गर्दै गर्दा भट्टराई २०७१/०७२ सालमा निलकण्ठेश्वर माविको प्रा.क. अध्यक्ष बन्नुभयो । त्यसपछि २०७३ सालको असार २४ र २५ गते रामेछाप सदरमुकाम मन्थलीमा सम्पन्न भएको अनेरास्ववियु रामेछापको १२ औँ जिल्ला अधिवेशनबाट भट्टराई जिल्ला कमिटीमा प्रवेश गर्नुभएका भट्टराई निर्वाचन क्षत्रिय कमिटीका संयोजक, जिल्ला कमिटीका सचिवालय सदस्य रहेर निरन्तर विद्यार्थी आन्दोलनको नेतृत्व गर्नुभयो । २०७७ साल माघ १५ गते सम्पन्न भएको रामेछाप जिल्लाको वृहत् युवा विद्यार्थीहरूको भेलाबाट अनेरास्ववियु जिल्ला कमिटी सचिव बन्नुभएका भट्टराई त्यस यता निरन्तर रूपमा विद्यार्थी आन्दोलन र विद्यार्थीहरूको हक, हित र अधिकारका लागि विद्यार्थी राजनीतिमा सक्रिय बन्नुभयो । रामेछाप सदरमुकाम मन्थलीमा रहेको मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसमा २०७३ साल फागुन १८ गते सम्पन्न भएको स्ववियु निर्वाचनमा झिनो मतले सचिव पदमा पराजित हुनुभयो ।
निर्वाचनको पराजयले भट्टराईलाई विद्यार्थी राजनीतिकमा झन् सक्रिय बनायो । त्यही निरन्तरता र सक्रियताले सधैँ विद्यार्थीका बिचमा आफूलाई परिचित गराउन सफल भट्टराई यही चैत ५ गते आइतबार हुने मन्थली सहिद स्मृति बहुमुखी क्याम्पस स्ववियु निर्वाचनमा स्ववियु सभापतिका रूपमा उभिनुभएको छ ।