रामेछाप । रामेछाप सदरमुकाम मन्थलीमा रहेको मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसमा त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनका लागि उम्मेदवारी दर्ता भएको छ । मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसमा आउँदो चैत्र ५ गते हुने लागेको स्ववियु निर्वाचनका लागि शनिवार उम्मेदवारी दर्ता भएको हो । मन्थली क्याम्पसको स्ववियु सभापतिका लागि नेकपा एमालेको विद्यार्थी सङ्गठन अनेरास्ववियुबाट पुष्कर भट्टराईले उम्मेदवारी दिनुभएको छ । त्यसै गरी अनेरास्ववियुबाट स्ववियु सचिवमा सुशील थापा र कोषाध्यक्षमा विनीता श्रेष्ठले उम्मेदवारी दर्ता गराउनुभएको छ । अनेरास्ववियुले स्ववियु सदस्य प्रत्यक्षतर्फ अनिल श्रेष्ठ, अनिषा घिमिरे, रविना श्रेष्ठ, सुदिप कार्की र सोमहरि घिमिरेलाई उम्मेदवार बनाएको छ ।
अनेरास्ववियुले समानुपातिक तर्फ उत्सव केसी, जोनसोन कार्की, दिपिका सुवेदी, दीपेन्द्र खड्का, मसली तामाङ, मुकेश भण्डारी, विकास गजमेर, सुनिशा कर्माचार्य, सुस्मा श्रेष्ठ र अम्बिका नेपालीको नाम बुझाएको छ । यस्तै नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी सङ्घ (नेविसंघ), नेकपा माओवादी केन्द्र निकट विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) विद्यार्थी सङ्गठन र एकीकृत समाजवादी पार्टी निकट विद्यार्थी सङ्गठनले अभिनाश कार्कीको सभापतिमा उम्मेदवारी दर्ता गराएको छ । संयुक्त गठबन्धन मार्फत चुनावमा भाग लिएको नेविसंघले सभापति लिँदा सचिवमा भने क्रान्तिकारीका तेज बहादुर श्रेष्ठलाई उम्मेदवार बनाएको छ । गठबन्धनको टिमले कोषाध्यक्षमा महिलालाई अगाडि सार्दै एकीकृत समाजवादी निकट विद्यार्थीकी नेतृ कविता खरेललाई उम्मेदवार बनाइएको छ । गठबन्धनमा नेविसंघले मनीषा काफ्ले र युवराज बुढाथोकीलाई सदस्यको उम्मेदवार बनाएको छ । क्रान्तिकारी विद्यार्थी सङ्घले विनीता माझी र अनोज घिमिरेलाई उम्मेदवार बनाउँदा एक कोषाध्यक्ष सहित एक सदस्य पाएको एकीकृत समाजवादी निकट विद्यार्थी सङ्गठनले विनोद बुढाथोकीलाई सदस्यको उम्मेदवार बनाएको छ । स्ववियु निर्वाचनको मतदान चैत ५ गते बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म हुनेछ । मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनमा कूल ७ सय १४ जनाले भोट हाल्दै छन् ।