जनता र एमाले पार्टीबिचको सम्बन्ध अझै प्रगाढ बनाउन मिसन ग्रासरुट अभियान : रत्न गौतम

  • प्रकाशित मिति: बुधबार, फाल्गुन २४ २०७९
  • तामाकोशी

रामेछाप । नेकपा एमाले वाग्मती प्रदेश कमिटीका सदस्य रत्न गौतमले जनता र एमाले पार्टीबिचको सम्बन्ध अझै प्रगाढ बनाउन मिसन ग्रासरुट (पार्टी सुदृढीकरण तथा विस्तार अभियान २०७९) सञ्चालन गरिएको बताउनुभएको छ । बुधवार रामेछाप सदरमुकाम मन्थलीमा नेकपा एमाले मन्थली नगर कमिटीको मिसन ग्रासरुट (पार्टी सुदृढीकरण तथा विस्तार अभियान २०७९) शुभारम्भ तथा प्रशिक्षण कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । विभिन्न समयमा भएका गतिविधिहरूका कारण नेकपा एमाले पार्टी, यसमा आबद्ध नेता र जनताका बिचमा केही खाडलहरू बनेकाले त्यस्ता खाडल पुर्न यो अभियान निकै महत्त्वपूर्ण रहेको नेता गौतमको भनाइ छ । नेकपा एमालेका नेता तथा कार्यकर्ताहरू वैचारिक रूपमा खारिएर स्थानीय स्तरमा जनताको जनजीविकासँग जोडिएका विषयहरू उठाउन सक्ने हुनुपर्ने उहाँको भनाइ छ । एमालेलाई सबै भन्दा बलियो र जनताको पार्टी बनाउनका लागि जनताको सबै भन्दा नजिकको तह स्थानीय तहमा पार्टीलाई बलियो बनाउनुपर्ने उहाँले बताउनुभयो । उत्पादनसँग नजोडिएका मान्छेहरू कम्युनिस्ट नहुने भएकाले नेकपा एमालेका हरेक नेता कार्यकर्ताहरू उत्पादनसँग जोडिनुपर्नेमा उहाँको जोड छ ।