मुलुकको समृद्धि र विकासको नेतृत्व गर्न सक्ने क्षमता एमालेसँग मात्रै छ : शेरबहादुर तामाङ

  • प्रकाशित मिति: बुधबार, फाल्गुन २४ २०७९
  • तामाकोशी

रामेछाप ।  नेकपा एमालेका स्थायी कमिटीका सदस्य शेरबहादुर तामाङले मुलुकको समृद्धि र विकासको नेतृत्व गर्न सक्ने क्षमता नेकपा एमालेसँग मात्रै रहेको बताउनुभएको छ । बुधवार रामेछाप सदरमुकाम मन्थलीमा नेकपा एमाले मन्थली नगर कमिटीको मिसन ग्रासरुट (पार्टी सुदृढीकरण तथा विस्तार अभियान २०७९) शुभारम्भ तथा प्रशिक्षण कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । मुलुकमा देखा परेका समस्याहरूको समाधान गरी समृद्धि र विकास गर्ने प्रस्ट भिजन र क्षमता एमालेसँग मात्रै रहेकाले यसबारेमा जनतालाई बुझाउनका लागि पनि एमालेले दुई महिने मिसन ग्रासरुट अभियान सञ्चालन गरेको उहाँको भनाइ छ । यो अभियान अन्तर्गत स्थानीय, प्रदेश र सङ्घमै नेकपा एमाले नेतृत्वमा रहँदा धेरै विकासका काम भए पनि निर्वाचनमा काम भए अनुसारको जनताले मत नदिनुको कारणको तल्लो तहमा गएर खोजी गरिने उहाँको भनाइ छ । नेकपा माओवादीसँग एकता गरेर नेकपा बनेपछि एमालेको साङ्गठनिक ढाँचाहरू बिग्रिएको बताउँदै अब बिग्रिएको साङ्गठनिक पद्धति र ढाँचाहरूलाई सही ढङ्गले स्थापित गराउन मिसन ग्रासरुट अभियान महत्त्वपूर्ण हुने उहाँको भनाइ छ । पार्टीमा विकसित हुँदै गएको सहमतिका नाममा लिस्ट बनाउने परिपाटीले पनि पार्टीमा लागेका नेता कार्यकर्ताहरूको सक्रियतालाई घटाएको भन्दै अब यस्तो परिपाटीको अन्त्य हुनुपर्ने उहाँको भनाइ छ ।