एमाले रामेछापको स्थानीय तहका जनप्रतिनिधिलाई शिक्षण कार्यक्रम

  • प्रकाशित मिति: मंगलबार, फाल्गुन २३ २०७९
  • तामाकोशी

रामेछाप । नेकपा एमाले रामेछापले मङ्गलवार जिल्लाका स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको प्रशिक्षणमूलक बैठक आयोजना गरेको छ । नेकपा एमाले रामेछापका अध्यक्ष एवं वाग्मती प्रदेश सभा सदस्य आनन्द श्रेष्ठको अध्यक्षता तथा एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेको प्रमुख आतिथ्ययतामा भएको कार्यक्रममा जिल्लाका स्थानीय तहमा प्रमुख तथा अध्यक्ष र उपप्रमुख तथा उपाध्यक्षमा निर्वाचित जनप्रतिनिधिका साथै वडाध्यक्षहरूको सहभागिता रहेको थियो । कार्यक्रममा पार्टीका पालिका कमिटी अध्यक्षहरूको पनि सहभागिता रहेको थियो । यसको साथै गएको स्थानीय तह निर्वाचनमा एमालेको तर्फबाट उम्मेदवार बनेको नेताहरूको समेत बैठकमा सहभागिता रहेको थियो । सहभागीलाई पार्टी उपाध्यक्ष सुरेन्द्र पाण्डेले प्रशिक्षण दिनुभएको थियो । कार्यक्रम आयोजनाको उद्देश्य बारे पार्टी जिल्ला अध्यक्ष आनन्द श्रेष्ठले प्रकाश पार्नुभएको थियो । श्रेष्ठले पार्टी र एमालेका जनप्रतिनिधिले गरेका कमलाई उचित प्रचार गर्न नसक्दा विरोधीहरूले एमालेका विरुद्ध भ्रम फिँजाउने काम गरेका बताउनुभयो । त्यसैले पार्टी र जनप्रतिनिधिको कामलाई जोडेर लैजान प्रशिक्षण आयोजना गरिएको श्रेष्ठले बताउनुभयो । पार्टीबाट निर्वाचित जनप्रतिनिधि र पार्टीको कामलाई एउटै लयमा अघि बढाउन सजिलो होस् भनी प्रशिक्षणमूलक बैठक आयोजना गरिएको पार्टीका जिल्ला सचिव पुरुषोत्तम कँडरियाले जानकारी दिनुभयो । सहभागीलाई स्वागत गर्दै पार्टीका जिल्ला उपसचिव प्रकाशकुमार कार्कीले पार्टी र जनप्रतिनिधि बिच बुझाइमा एकरूपता नहुँदा कहिलेकाहीँ समस्या आउने गरेको बताउनुभयो । बुझाइमा एकरूपताको लागि प्रशिक्षणात्मक बैठक आयोजना गरिएको कार्कीले बताउनुभयो ।