पुष्पलालको जन्मथलो रामेछापमा एमालेको मिसन ग्रासरुट अभियान

  • प्रकाशित मिति: शुक्रबार, फाल्गुन १९ २०७९
  • तामाकोशी

रामेछाप । नेकपा एमाले रामेछापले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको जन्मथलो रामेछाप नगरपालिकामा मिसन ग्रसारुट अन्तर्गतको पार्टी सुदृढीकरण तथा विस्तार अभियान शुक्रबारबाट सुरु गरेको छ । पार्टी नगर कमिटी अध्यक्ष रोशन पाख्रिनको अध्यक्षता तथा नेकपा एमालेका सचिव गोकर्ण विष्टको प्रमुख आतिथ्ययतामा अगुवा कार्यकर्ताको प्रशिक्षण कार्यक्रम आयोजना गरी अभियानको शुभारम्भ गरिएको हो । कार्यक्रममा बोल्दै एमाले सचिव विष्टले नेपाल राजनीतिक र आर्थिक हिसाबले निक्कै जटिल मोडमा रहेको बताउनुभयो । अहिले नेपाल सधैँ अरूको निर्भरतामा रहोस् भन्ने चाहना राख्नेहरू बलशाली भएका उहाँले बताउनुभयो । त्यसैले नेपालमा राजनीतिक अस्थिरता रहेको उहाँले प्रष्ट पार्नुभयो । ‘हामीलाई सामाजिक न्याय सहितको समृद्धि चाहिएको छ, तर ती शक्तिहरू त्यसो हुन दिन चाहँदैनन्’, विष्टले भन्नुभयो । अहिलेको निर्वाचन प्रणालीले एउटा पार्टीले बहुमत प्राप्त गर्ने अवस्था निक्कै चुनौतीपूर्ण रहेको उहाँले बताउनुभयो । ‘एउटा पार्टीले बहुमत ल्याउने अवस्था पनि छैन, धेरै पार्टी मिलेर काम गर्ने अभ्यास पनि हाम्रो देशमा छैन, यो निर्वाचन प्रणाली रहँदासम्म यो देशको अवस्था फेरी पनि यस्तै हुन्छ’, उहाँले भन्नुभयो । देश र र संवैधानिक व्यवस्था अनुसारको पात्र नेपालमा नभएको उहाँले बताउनुभयो । ‘च्याँखे दाउमा राजनीतिक भविष्य निर्धारण हुने प्रवृत्ति हाम्रो देशमा देखा परेको छ, निर्वाचन प्रणाली यस्तो छ, अवस्था यस्तो छ, पात्र प्रचण्ड जस्ता छन्’, उहाँले भन्नुभयो ।
माओवादी अध्यक्ष पुष्पकमल दाहालमा छेपारो जस्तो छिनको छिन रङ्ग फेर्ने चरित्र रहेको विष्टले बताउनुभयो । प्रचण्डको चरित्रले अहिले बनेको गठबन्धन पनि लामो समयसम्म जाने अवस्था नरहेको उहाँले बताउनुभयो । ‘फेरी निर्वाचनमा जाने अवस्था आउँछ, पटक पटकका निर्वाचनले मात्रै पनि देशलाईलाई समृद्ध बनाउन सकिन्छ भन्ने होइन, तर देश त्यतै जाँदै छ’, उहाँले भन्नुभयो । नेकपा एमालेले लिएको समृद्ध नेपाल निर्माण अभियानको लागि नेकपा एमाले बलियो पार्टी बन्नु पर्ने विष्टले बताउनुभयो । त्यसैको लागि पार्टीले ग्रासरुट अभियान सुरु गरेको बताउनुभयो । यो अभियानबाट पार्टीलाई व्यवस्थित र सुदृढ बनाउने उहाँले विश्वास व्यक्त गर्नुभयो । पार्टीहरू जनताको बिचबाटै स्थापित हुने भएकाले एमाले जनताको बिचमा जान लागेको विष्टले प्रष्ट पार्नुभयो । कार्यक्रममा बोल्दै नेकपा एमाले केन्द्रीय कमिटी सदस्य निरु दर्लामीले एउटै पार्टी भित्र एउटाको कुरा अर्काले नसुन्ने परम्परा यो अभियानले अन्त्य गर्ने विश्वास व्यक्त गर्नुभयो । ‘एमालेको सर्वोच्च लिडर केपी ओली नै हो, उहाँको विकल्प अहिले कसैले कल्पना गरेको छैन, त्यसैले तल कुनै गुट उपगुटको अर्थ छैन’, उहाँले भन्नुभयो ।
आफूले जीवनको लामो कालखण्ड प्रचण्डको पार्टीमा बिताएको भए पनि प्रचण्डले देश र जनताको लागि काम गर्ने नसक्ने देखेर कम्युनिष्ट पार्टीको मूलधार नेकपा एमालेमा समाहित भएको दर्लामीले बताउनुभयो । प्रचण्डको पार्टी विगठनको मुखमा पुगेको बताउँदै दर्लामीले प्रचण्डले पार्टी विगठनको हस्ताक्षर गर्ने साथी समेत नपाउने दाबी गर्नुभयो । ‘पार्टी विगठनको हस्ताक्षर गर्न अध्यक्ष र सचिवको हस्ताक्षर आवश्यक पर्छ, प्रचण्डले पार्टी विगठनको हस्ताक्षर गर्न एक जना साथी पनि नपाउने अवस्था आउँदै छ’, उहाँले भन्नुभयो ।कार्यक्रममा नेकपा एमाले केन्द्रीय सम्पर्क सल्लाहकार सदस्य प्रा.डा.ऋषिराम शर्मा, नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य राजकुमार श्रेष्ठ, वाग्मती प्रदेश कमिटी सदस्य शान्तिप्रसाद पौडेल, पार्टी जिल्ला कमिटी अध्यक्ष आनन्द श्रेष्ठ लगायतले प्रशिक्षणात्मक मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा पार्टी नगर कमिटी अध्यक्ष रोशन पाख्रिनले नगरपालिकाको सबै वडामा वडा कमिटी बैठक राखी बस्ती स्तरसम्म पुग्ने बताउनुभयो । सो क्रममा कार्यकर्ता र नागरिकको गुनासो बुझ्ने तथा पार्टी सदस्यता नवीकरण लगायतका काम गरी पार्टीलाई चुस्त दुरुस्त बनाउने उहाँले बताउनुभयो । रामेछाप नगरपालिका–८ को भँगेरीमा नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको जन्म भएको थियो । सरकारी सेवाको सिलसिलामा उहाँका पिता रामेछापमा बडाहाकिम भएर बसेको बेला पुष्पलाल श्रेष्ठ र सहिद गंगालाल श्रेष्ठको जन्म रामेछापको भँगेरीमा नै भएको थियो ।