रामेछाप विकासका लागि सबै मिल्नुको विकल्प छैन : सांसद तामाङ

  • प्रकाशित मिति: बिहिबार, फाल्गुन १८ २०७९
  • तामाकोशी

रामेछाप । रामेछापका सङ्घीय सांसद पूर्णबहादुर तामाङ(कान्छाराम) ले रामेछाप विकासका लागि सबै मिल्नुको विकल्प नभएको बताउनुभएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) रामेछापको ११ औँ साधारण सभा तथा जिल्ला भेलामा बोल्दै सांसद तामाङले जिल्ला विकासका लागि एकताबद्ध हुन आह्वान समेत गर्नुभयो । मुलुकमा सरकार सञ्चालनका लागि जे जस्ता गठबन्धन बने पनि रामेछाप जिल्ला बनाउन यो पार्टी त्यो पार्टी नभनी जिल्लाका सबै राजनीतिक शक्ति तथा अन्य निकाय एकताबद्ध भएर लाग्नुपर्नेमा उहाँको जोड छ । अहिले नागरिकको भावना र चाहाना अनुसार रामेछाप जिल्लाको विकासका लागि सबैको एकताको विकल्प नभएको उहाँले बताउनुभयो । उहाँले सत्य र तथ्यमा आधारित रही पत्रकारिता पेसालाई मर्यादामा राखेर एकताको भावनालाई आत्मसाथ गरी क्रियाशीलता हुन रामेछापका पत्रकारहरूलाई आग्रह गर्नुभयो । उहाँले रामेछापमा रहेर पत्रकारिता पेसा गरिरहेका आदिवासी जनजाति पत्रकारहरूको हक हितका लागि फोनिजमा ५१ हजार रुपैयाँको अक्षय कोष स्थापना गर्ने प्रतिबद्धता समेत जनाउनुभयो । सांसद तामाङलेले फोनिज रामेछापको कार्यालय सञ्चालनका लागि मन्थलीमा भवन निर्माणका लागि सकेको सहयोग गर्नुभयो । यसका लागि मन्थली नगरपालिकासँग आवश्यक समन्वय गरी भवन बनाउन आवश्यक जग्गा उपलब्धताका लागि प्रदेश तथा सङ्घीय सरकारलाई आग्रह गर्ने उहाँको भनाइ छ ।