रामेछाप । रामेछाप सदरमुकाम मन्थलीमा अहिलेसम्म व्यवस्थित पार्किङ निर्माण हुन सकेको छैन । जसका कारण सानो तर व्यस्त मन्थली बजार क्षेत्रको सडकमा यात्रा गर्ने सर्वसाधारणलाई समस्या भएको छ भने सडक दुर्घटनाको सम्भावना पनि बढाएको छ । मन्थली नगरपालिकाले व्यवस्थित पार्किङ बनाउन नसक्दा बजार क्षेत्रका मूल सडकमै जथाभाबी मोटरसाइकल पार्किङ हुँदै आएको छ । अति व्यस्त रहने मन्थलीको मुख्य बजार क्षेत्रको सडक नै ढाक्ने गरी मोटरसाइकल पार्किङ हुँदै आए पनि सरोकारवाला निकायले व्यवस्थित पार्किङको खोजिनै नगरेको मन्थली नगरपालिका–९ पुरानागाउँका सन्तोष श्रेष्ठले बताउनुभयो । सानो सडक तर व्यस्त रहने मन्थलीमा जथाभाबी गरिएको मोटरसाइकल पार्किङका बारेमा सरकारी उदासीनता र सरोकारवाला निकायको लापरबाहीका कारण मन्थली बजार झनै अव्यवस्थित बन्दै गएको देखिन्छ उहाँले भन्नुभयो ।
व्यवस्थित पार्किङ बजार क्षेत्रको आधारभूत पूर्वाधार हो । तर मन्थली बजार क्षेत्रमा अहिलेसम्म व्यवस्थित पार्किङ बन्न नसक्दा यहाँ बस्ने सर्वसाधारणको दैनिकी बेहाल बन्दै गएको छ । सडक नै ढाक्ने गरी गरिएको मोटरसाइकल पार्किङले यातायातको साधनलाई यात्रु चढाउन तथा ओराल्न नै धेरै समस्या हुने गरेको यातायात व्यवसायी मन्थली नगरपालिका १० चनखुका अविरल केसी(अनिल) ले बताउनुभयो । ‘मन्थली बजारको कुन्तको सानो सडक त्यसमा आधा सडक ढाक्ने गरी मोटरसाइकल पार्किङ हुन्छ, जसका कारण यात्रु बसहरूलाई चढाउन र ओराल्न समस्या हुन्छ’, उहाँले भन्नुभयो । मन्थली बजार क्षेत्रमा देवकोटा चोकदेखि कटहर बोटसम्मको मुख्य सडकमा आधा सडक नै ढाक्ने गरी सडकको एक साइडमा मोटरसाइकल पार्किङ हुँदै आएको छ । यो सडकमा जिल्ला ट्राफिक प्रहरीले हप्ता हप्ता दिनमा मोटरसाइकल पार्किङ गर्ने सडकको साइड परिवर्तन गर्दै आएको छ । जिल्लाकै व्यस्त मन्थली बजार क्षेत्र जिल्ला प्रशासन कार्यालय जाने बाटो, देवकोटा चोकबाट रेडक्रस लाइन हुँदै जिल्ला प्रहरी कार्यालय जाने बाटोमा पनि पनि आधाभन्दा बढी सडकको भाग सवारी साधनकै पार्किङले ढाकिएको हुन्छ ।
सर्वसाधारण र मन्थली बजार क्षेत्रका सबै व्यवसायिहरुको अनुकूल हुने ठाउँमा व्यवस्थित पार्किङ बनाउन आवश्यक रहेको रामेछाप उद्योग वाणिज्य सङ्घका सचिव सुरेश उदास बताउनुहुन्छ । ‘बजार क्षेत्रमा अहिले भइरहेको पार्किङको विषयमा व्यवसायिहरुको मिश्रित प्रतिक्रिया छ, यसलाई ध्यानमा राखेर व्यवसायी र सर्वसाधारणको अनुकूलता हुने गरी व्यवस्थित पार्किङ बनाउनुपर्छ’, उहाँले भन्नुभयो । मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले मन्थली बजारको पार्किङ समस्या समाधानको लागि आफूहरू गम्भीर रहेको बताउनुभयो । ‘पार्किङको समस्या जटिल छ, यो बिषयमा नगरपालिका गम्भीर बनेको छ, उपलब्ध साधन स्रोतको प्रयोग गरेर छिट्टै मन्थलीमा पार्किङको समस्या समाधान गर्ने तर्फ लाग्छौँ’,उहाँले भन्नुभयो । मन्थली बजार व्यवस्थापन, फुटपाथ तथा पार्किङ व्यवस्थापनका लागि बनाइएको समितिले आवश्यक अध्ययन तथा छलफल गरेर नगरपालिकालाई प्रतिवेदन बुझाएको छ अब त्यो प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजान्छौं नगरप्रमुख श्रेष्ठले बन्नुभयो ।
