रामेछापमा एमालेको मिसन ग्रासरुट अभियान सुरु

  • प्रकाशित मिति: मंगलबार, फाल्गुन ९ २०७९
  • तामाकोशी

रामेछाप । नेकपा एमाले रामेछापले पार्टी सुदृढीकरण तथा विस्तारका लागि मिसन ग्रासरुट अभियान सुरु गरेको छ । यो अभियानको तयारी स्वरूप एमाले रामेछापले मङ्गलवार सदरमुकाम मन्थलीमा अभियानका लागि जिल्ला आएका केन्द्रीय सहित प्रदेश कमिटी सदस्य, जिल्ला कमिटीका पदाधिकारीहरू र पालिका कमिटीका अध्यक्षहरूको संयुक्त बैठक सम्पन्न गरेको छ । एमाले रामेछापका अध्यक्ष एवं वाग्मती प्रदेश सदस्य आनन्द श्रेष्ठको अध्यक्षतामा भएको बैठकमा अभियानका लागि रामेछाप खटिएर आउनुभएका केन्द्रीय सदस्य कृष्णप्रसाद दाहालले पार्टीको कमजोर बन्दै गएको पूर्ववर्ती मन्यताहरुलाई पुनः स्थापित गर्न यो अभियान सञ्चालन गरिएको बताउनुभयो । यो अभियानका अन्तरगत पार्टी सदस्यको सदस्यता नवीकरण, सदस्य विस्तार, प्रशिक्षण लगायतका कार्यक्रम सञ्चालन हुने र सङ्गठनदेखि जनप्रतिनिधि र पार्टीबिच सम्बन्ध सुधारका लागि सुझाव सङ्कलन गरिने उहाँको भनाइ छ । अर्का केन्द्रीय सदस्य कपिलदेव पोखरेलले पार्टीले अङ्गीकार गरेको जनताको बहुदलीय जनवादको यथार्थता कार्यान्वयनका लागि मिसन ग्रासरुट अभियान सुरु गरिएको बताउनुभयो । पार्टीले जुन वर्गका लागि रगत पसिना बगाएर अनेक सङ्घर्ष ग¥यो त्यो वर्ग अहिले साथमा छ कि छैन भन्ने कुरामा गम्भीर बनेर पार्टीले यो अभियान सञ्चालन गरेको उहाँले बताउनुभयो । उहाँले पार्टीले सुरु गरेको यो अभियानले अर्को निर्वाचनमा नेकपा एमालेलाई जनताका मतबाट पहिलो पार्टी बनाउने विश्वास पनि व्यक्त गर्नुभयो । कार्यक्रममा केन्द्रीय सदस्य निरु दर्लामीले अबको निर्वाचनमा एमालेलाई पहिलो दल बनाउन गुटगत मानसिकता त्यागेर पार्टीले अगाडी सारेको ग्रासरुट अभियानलाई सफल बनाउन सबै लाग्नुपर्नेमा जोड दिनुभयो । एमाले रामेछापका अध्यक्ष आनन्द श्रेष्ठले पार्टी सुदृढीकरण तथा विस्तारका पार्टीले सुरु गरेको मिसन ग्रासरुट अभियानलाई रामेछापमा प्रभावकारी रूपमा सञ्चालन गरिने बताउनुभयो । अभियानलाई प्रभावकारी बनाउन जिम्मेवार भएर लाग्न पार्टीका नेता कार्यकर्तालाई उहाँले आग्रह गर्नुभयो । एमालेले रामेछापको दोरम्बा सैलुङ, सुनापति र खाँडादेवी गाउँपालिकामा केन्द्रीय सदस्य कपिलदेव पोखरेल, गोकुलगंगा, लिखुतामाकोशी र उमाकुण्ड गाउँपालिकामा कृष्णप्रसाद दाहाल र मन्थली अनि रामेछाप नगरपालिकामा निरु दर्लामीलाई खटाएको छ । ८ वटा पालिकाको ६४ वटा वडा रहेको रामेछापमा एमालेको १४ हजार बढी सङ्गठित सदस्य रहेका छन् ।