देवबहादुरको आरन पेसाबाट फेरिएको जीवन : मासिक ५० हजार आम्दानी

  • प्रकाशित मिति: सोमबार, माघ २३ २०७९
  • तामाकोशी

रामेछाप । पछिल्लो समयमा आधुनिकतासँगै भित्रिएको प्रविधिको कारण आरन पेसा सङ्कटमा पर्दै गएको छ । अहिले आरनमा बनाउनु पर्ने सबै सामाग्री बजारमा सस्तो मूल्यमा पाइन्छ । जसका कारण रामेछापका धेरैले आरन पेसा नै छाडिसकेका छन् । तर जिल्लाको मन्थली नगरपालिका–९ पुरानागाउँ बाहुनचुराका ५९ वर्षीय देवबहादुर विकको भने आरन पेसाबाटै जीवन फेरिएको छ । पुर्ख्यौली पेसा आरनलाई व्यवस्थित र व्यावसायिक बनाएकै कारण राम्रो आम्दानी हुन थालेपछि उहाँसँगै परिवारको जीवन फेरिएको हो ।
बाहु बाजेले सामान्य ज्याला बापतको अन्नपातमा आरन पेसा चलाउँदै आएका थिए । तर देवबहादुरले समयको माग अनुसार पुर्ख्यौली पेसा आरनलाई थप प्रविधिसँग जोडेर व्यावसायिक बनाएपछि वार्षिक ६ लाख रुपियाँ आम्दानी गरिरहनु भएको छ । अहिले सामान्य रोजगारीका लागि पनि गाउँका युवा शक्ति खाडी मुलुक जान बाध्य छन् । तर देवबहादुरले पुर्ख्यौली पेसा आरनबाटै मासिक ५० हजार रुपियाँ बढी आम्दानी गरिरहनु भएको छ । यो आम्दानीबाट उहाँलाई परिवार चलाउन कुनै समस्या छैन । अहिले आरन चलाएर महिनाको ५० हजार बढी आम्दानी भइरहेको उहाँले बताउनुभयो । आफूले गर्दै आएको पेसा छोड्नु भन्दा समय अनुसार त्यसलाई व्यवस्थित र व्यावसायिक बनाउनुपर्ने रैछ । आरन पेसा व्यावसायिक बनाएपछि वर्षमा ६ लाख रुपियाँ कमाइ भइरहेको छ उहाँले भन्नुभयो ।
अहिले उमेरले ५९ वर्ष पुगिसकेका देवबहादुर ३७ वर्षदेखि निरन्तर आरन पेसामा हुनुहुन्छ । उहाँले सुरु सुरुमा पुर्खाले जस्तै सामान्य कुटो, कोदालो, कोदाली, फाली हँसिया बनाउने र अर्जाप्ने मात्रै काम गर्नुभयो । तर यसबाट उहाँलाई परिवार चलाउन मुस्किल भयो । पेसा परिवर्तन गरौँ अन्य केही गर्ने सीप छैन । यही पेसा गरौँ आम्दानी नहुँदा परिवार चलाउनै मुस्किल । त्यस समय देवबहादुरलाई पेसा र परिवार चलाउन निकै समस्या भएको थियो । समस्यासँग जुध्दै उहाँले आवश्यक सीप सिकेर आरन पेसालाई थप व्यवस्थित बनाएर व्यावसायिक बनाउने योजना बनाउनुभयो । सोही योजना अनुसार उहाँले आफ्नो घरको आरनबाट कर्नाल, खड्कुँलो, गाग्री, खुकुरी, मना, पाथी लगायतका साधानहरु समेत बनाउन थाल्नुभयो । त्यसपछि आरन पेशाबटै उहाँको आम्दानी बढ्न थाल्यो । अहिले उहाँले बनाउनुभएको कर्नाल मात्रै वर्षमा ६० वटा बढी बिक्री गरिरहनुभएको छ । उहाँले भन्नुभयो ‘‘कर्नाल, खड्कुँलो, खुकुरी, गाग्री जस्ता सामानहरू बनाउन थोपछि आम्दानी राम्रो हुन थाल्यो, परिवार चलाउन पनि सहज भयो, अहिले वर्षमा ६० वटासम्म कर्नाल बिक्री हुन्छ ।’’ पित्तलको कर्नाल १० देखि १२ हजार र तामाको कर्नाल १२ देखि १६ हजार रुपियाँसम्ममा बिक्री भइरहेको उहाँले बताउनुभयो । आरनबाट राम्रो आम्दानी हुन थालेपछि परिवार चलाउन सजिलो भएको देवबहादुरकी श्रीमती नन्दमाया विकले भन्नुभयो । ‘आरन चलाउने पेसा पहिले भन्दा परिवर्तन भएको छ, अहिले कर्नाल, खड्कुँलो, खुकुरी, गाग्री जस्ता सामानहरूको बढी माग आउँछ, माग अनुसार बनाउन सके झनै राम्रो हुन्थ्यो’,उहाँले भन्नुभयो । मन्थली नगरपालिका–९ पुरानागाउँबाट निर्वाचित वडा सदस्य समेत रहनु भएकी नन्दमायाले भन्नुभयो कमाइ हुन छाडेपछि धेरैले आरन पेसा छाडिसके । तर यसलाई व्यवस्थापन गरेर व्यावसायिक बनाउन सके घरमै राम्रो आम्दानी गर्न सकिन्छ ।