हरेक पार्टी र संस्थाले नयाँ पुस्ताको भावना बुझ्न सक्नुपर्छ : माधव ढुङ्गेल

  • प्रकाशित मिति: आइतबार, माघ २२ २०७९
  • तामाकोशी

रामेछाप । नेकपा एमाले केन्द्रीय सदस्य माधव ढुङ्गेलले अब हरेक पार्टी र संस्थाले नयाँ पुस्ताको भावना बुझ्न सक्नु पर्ने बताउनुभएको छ । प्रेस चौतारी नेपालको २५ औँ स्थापना दिवसको अवसरमा प्रेस चौतारी नेपाल रामेछापले आइतबार आयोजना गरेको कार्यक्रमलाई मन्थलीमा सम्बोधन गर्दै नेता ढुङ्गेलले यस्तो बताउनुभएको हो । विद्यार्थी इञ्चार्ज समेत रहनुभएका ढुङ्गेलले तत्कालीन समाजको भावना सम्बोधन गर्ने नसक्ने पार्टी र संस्था नागरिकबाट अस्वीकृत हुने बताउनुभएको छ । व्यक्तिको मानव जीवन फेरी कसैका लागि पनि नभएको उहाँले बताउनुभयो । त्यसैले मानिसले आफ्नो जीवन सही ढङ्गले अघि बढोस् भन्ने हरेक नागरिकको चाहना हुने ढुङ्गेलले बताउनुभयो । यसमा पत्रकारिता जगत् पनि त्यतिकै जिम्मेवार हुनुपर्ने उहाँले बताउनुभयो । एउटा समाचारले समाजलाई कस्तो प्रभाव पार्छ भन्ने कुरा प्रत्येक सञ्चारकर्मीले सोच्नु पर्नेमा उहाँले जोड दिनुभयो । सुशासन, लोकतन्त्रको विकल्प नभएको उहाँले प्रष्ट पार्नुभयो । नेपालमा चुनावी प्रक्रिया भित्र केही समस्या देखिएको बताउँदै ढुङ्गेलले त्यसमा सुधार हुन जरुरी रहेको बताउनुभयो । चुनावमा हुने अत्यधिक खर्चले विकृति बढाउँदै लगेको उहाँको भनाई छ । त्यसैले यस्ता विकृतिलाई अन्त्य गर्ने विषयमा पत्रकारिता गतले निर्मम बहस चलाउन जरुरी रहेको उहाँले बताउनुभयो । खोज बिना अब पत्रकारिता अघि बढ्न नसक्ने उहाँले बताउनुभयो । कसैलाई आरोप लगाउने र खुइल्याउने पत्रकारिताले पत्रकारिता प्रति समाजको सकारात्मक सोच विकास हुन नसक्ने ढुङ्गेलले बताउनुभयो । जनताको बिचमा असल र सही सूचना प्रवाह गर्ने पत्रकार मात्र स्थापित हुने उहाँले प्रष्ट पार्नुभयो । परम्परागत शैलीमा अब सञ्चारमाध्यम टिक्न नसक्ने पनि ढुङ्गेलले बताउनुभयो । योजनामा, समाज निर्माण र खोज अनुसन्धानमा अब सञ्चार क्षेत्र लाग्नु पर्ने बताउनुभयो । त्यसो गर्न सकियो भने सञ्चार माध्यमलाई बाँच्न गाह्रो नहुने उहाँले प्रष्ट पार्नुभयो ।