काठमाडौं । रामेछापको साँघुटारदेखि ओखलढुंगाको घोराखोरीसम्म सडक कालोपत्र ठेक्का पारेर ६ वर्षसम्म कुनै काम नगरेका ठेकेदार पुर्णबहादुर तामाङ (कान्छाराम) ले लमजुङमा पनि कालोपत्रे ठेक्का पारेर अलपत्र छाडेको पाइएको छ । विभिन्न ठाउँमा ठेक्का पारेर काम नगरेपछि कालोसूचीमा परेका कान्छाराम भने हालै सम्पन्न निर्वाचनमा रामेछापबाट तत्कालीन गठबन्धनको सहयोगमा कांग्रेसको टिकटबाट सांसद बनिसकेका छन् । कान्छाराम–नाना जेभीले करिब १० किलोमिटर कालोपत्रे गर्ने भनेर ठेक्का पारेको क्व्होलासोँथार गाउँपालिका वडा नम्बर १ बागलुङपानीदेखि घलेगाउँसम्मको सडकमा कुनै काम हुन नसकेपछि स्थानीय जनप्रतिनिधिले ठेकेदारको खोजी थालेका छन् ।
२०७८ असोज ३० सम्म काम सक्ने गरी २०७६ साल असोजमा कान्छाराम–नाना जेभीले १० किलोमिटर सडक कालोपत्रेको ठेक्का पारेको थियो । करिब ३५ करोड रूपैयाँको सो ठेक्का परेपछि केही ठाउँमा पर्खाल उठाउने र केही ग्राभेल बिछ्याउनेबाहेक कुनै काम भएको छैन । पछिलो समय ठेकेदारले कुनै पनि काम नगरेको गाउँपालिका अध्यक्ष सूर्य गुरुङले बताए । ठेक्का पारेर मोबिलाइजेशन रकम लिने र त्यसपछि काम नगर्ने भनेर बदनामी कमाएका ठेकेदार कान्छाराम तामाङले उल्टै स्थानीय जनता र जनप्रतिनिधिहरुलाई धम्की दिने गरेका छन् । यसै सातामात्र ओखलढुंगाको लिखु गाउँपालिका २ मा आयोजित कार्यक्रममा गाउँपालिका उपाध्यक्ष अस्मिता थापाले ठेकेदारले ६ वर्षदेखि काम नगरी विकास अलपत्र पारेको भनेर आलोचना गर्दा उल्टै कान्छारामका प्रतिनिधि ठेकेदार राजन सुवेदीले उपाध्यक्षमाथि जे पनि हुनसक्ने धम्की दिएका थिए । लमजुङको क्व्होलासोँथार गाउँपालिकाका पूर्वअध्यक्ष प्रेम घले र वर्तमान अध्यक्ष सूर्य गुरुङले समेत पटकपटक कान्छारामलाई भेटेरै पनि सडक कालोपत्रे गर्न आग्रह गरेका थिए । मंसिर ४ को निर्वाचनबाट कान्छाराम सांसद भइसकेका छन् । काम पनि नगर्ने र सम्पर्कमा समेत नआउने भएपछि धरौटी जफतका लागि बैंकमा प्रक्रिया थालिएको छ । कान्छारामले दाङमा पनि सडक ठेक्का लिएर मोबिलाइजेशन रकम निकालेपछि काम नगरी अलपत्र पारेको आरोप छ ।
यो समाचार नेपाल प्रेसमा छ ।
कालोपत्रे ठेक्कामा बदनाम रामेछापका सांसद पुर्णबहादुर तामाङ (कान्छाराम)
- प्रकाशित मिति: शुक्रबार, माघ २० २०७९
- तामाकोशी