रामेछाप । नेकपा एमालेका स्थायी कमिटी सदस्य भानुभक्त ढकालले राष्ट्रिय सहमति वा निर्वाचन जे भए पनि मुलुकको राष्ट्रपति नेकपा एमालेबाटै बन्ने बताउनुभएको छ । नेकपा एमाले रामेछापले शनिवार सदरमुकाम मन्थलीमा आयोजना गरेको चियापान कार्यक्रम नेता ढकालले यस्तो बताउनुभएको हो । अहिले सबैको राष्ट्रपति को बन्ला भन्ने जिज्ञासा रहेको भन्दै नेता ढकालले जुनसुकै हालतमा आगामी राष्ट्रपति निर्वाचनमा एमालेका उम्मेदवार विजयी हुने ठोकुवा गर्नुभयो । उहाँले भन्नुभयो ‘‘हुँदा राष्ट्रिय सहमतिमा र नभए निर्वाचनबाट एमालेकै उम्मेदवार राष्ट्रपतिमा विजयी हुन्छ, यसमा कुनै ढुक चुक पालिरहनु पर्ने वा अप्ठेरो मानिरहनुपर्ने अवस्था नै छैन ।’’ प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले तेस्रो पटक हार्न राष्ट्रपतिमा उम्मेदवार नै नउठाउने र राष्ट्रिय सहमतिमै एमालेबाट राष्ट्रपति बन्ने उहाँको विश्वास छ । अहिले विभिन्न गतिविधि देखाएर नेपाली काँग्रेस नेकपा माओवादी केन्द्रलाई फकाउन सकिन्छ कि भन्ने अभियानमा लागेको बताउनुभयो । काँग्रेसले माओवादीको मन फिरी पो हाल्छ कि भनेर एमालेको उम्मेदवार भएको ठाउँमा उम्मेदवारी उठाउने, माओवादीका उम्मेदवार भएको ठाउँमा उम्मेदवारी नउठाउने गरिरहेको छ उहाँले भन्नुभयो । काँग्रेसको यो चरित्र भने नयाँ नभएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो ‘‘अहिले राष्ट्रपति को बन्छ भन्ने बारेमा अन्यौलता सिर्जनका लागि खेतीपाती चलिरहेको छ, अब राष्ट्रपतिको निर्वाचनपछि यसको अन्त्य हुन्छ र दुई वर्षसम्म अरू अस्थिरताको खेलहरू बन्द हुन्छन् ।’’ अहिले सक्तासाझेदर दलहरू बिचमा कुनै अविश्वास र अप्ठेरो अवस्था नआएकाले सरकार सञ्चालन र मन्त्रालय भागबन्डामा पनि कुनै पनि विवाद नदेखिएको उहाँले बताउनुभयो । नेकपा एमाले मुलत वामपन्थीहरू बिचको सहकार्यलाई अझै बलियो बनाउँदै अरू राष्ट्रवादी शक्तिहरू र स्वतन्त्र रूपमा आएकालाई पनि साथमा लिएर अहिलेको सरकार उपयोगी रहेको उहाँको भनाइ छ ।
तेस्रो पटक हार्न काँग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिँदैन : एमाले नेता ढकाल
- प्रकाशित मिति: शनिबार, माघ ७ २०७९
- तामाकोशी