पर्यटन कोरिडोरको रूपमा विकास गर्न मदन भण्डारी स्मृति पार्क निर्माण

  • प्रकाशित मिति: मंगलबार, माघ ३ २०७९
  • तामाकोशी

रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका–५ पकरबासको सल्लेनी सामुदायिक वनमा जननेता मदन भण्डारीको स्मृति पार्क निर्माण भइरहेको छ । गाउँपालिकाले छुट्टाएको १० लाख रुपियाँबाट सुरु गरिएको बजेटबाट खेल मैदान लगायतका केही संरचना निर्माण गरिएको थियो । त्यसपछि बागमती प्रदेश सरकारको ५० लाख रुपियाँ बजेटबाट पार्क निर्माणको काम गरिएको सल्लेनी सामुदायिक वन उपभोक्ता समूहका कोषाध्यक्ष घनश्याम सार्कीले बताउनुभयो । प्रदेश सरकारको बजेटबाट पार्क भित्र मदन भण्डारीको प्रतिमा निर्माण, शौचालय तार बार लगाउने काम गरिएको उहाँले बताउनुभयो । चार करोड ४३ लाख रुपियाँको लागत अनुमान रहेको पार्क निर्माणमा अहिलेसम्म गाउँपालिकाको १० लाख र बागमती प्रदेश सरकारको ५० लाख रुपियाँ रकम खर्च भइसकेको खाँडादेवी गाउँपालिका–५ पकरबासका वडा अध्यक्ष मनोज पौडेलले बताउनुभयो । पार्क निर्माणका लागि अहिलेसम्म प्रदेश र गाउँपालिकाको गरी ६० लाख रुपियाँ बजेट खर्च भइसकेको र यो वर्ष पनि वडाबाट थप १० लाख रुपियाँ र गाउँपालिकाको अध्यक्षसँग जनता कार्यक्रमबाट १० लाख रुपियाँ विनियोजन भएर काम अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो । यो पार्कलाई काठमाडौँबाट खाँडादेवी आउने र मन्थलीबाट खाँडादेवी जाने पर्यटकको एउटा गन्तव्यको थलोको रूपमा विकास गरिने उहाँले बताउनुभयो । करिब २० रोपनी क्षेत्रफलमा फैलिएको पार्कलार्ई खाँडादेवीको नमुना खेल मैदान र पार्कको रूपमा विकास गर्ने उहाँले बताउनुभयो । जिल्ला सदरमुकाम मन्थलीबाट आएर यो पार्कमा घुम्ने, यहाँबाट केही माथि रहेको गढीमा जाने, त्यहाँबाट सुनकोसी क्षेत्रको दृश्यावलोकन गर्दै खाँडादेवीको भ्यु टावर, र खाँदेवी मन्दिरसम्मको पर्यटकीय स्थानमा पुग्ने गरी संरचना विकास गर्ने गाउँपालिकाको योजना रहेको खाँडादेवी गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले बताउनुभयो ।